दमक/ नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असारमा सार्ने निर्णय गरेको हो ।
यसअघि महाधिवेशन जेठ ३ देखि ७ गतेसम्म हुने भनिएकामा आन्तरिक तयारी नपुगेकाले असारमा र्पुयाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
‘हामीले हाम्रो दसौँ राष्ट्रिय महाधिवेशनलाई केही दिन पछाडि सारेका छौ’, बैठकको निर्णय सुनाउँदै खतिवडाले भने, ‘२०८० असार १६ देखि २० गतेसम्म काठमाडौँमा गर्ने गरी निर्णय गरेका छौँ ।’
एकीकृत समाजवादीले जिल्ला कमिटी र केन्द्रको विश्लेषणका आधारमा महाधिवेशन मिति केही दिन पछि सारेको जनाएको छ ।
त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ ।
बालकुमारीमा बुधबार प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन् ।
जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने कुरा बताए ।
त्यस्तै अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामाग्रीहरू प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउन समेत निर्देशन दिएका थिए । बैशाख ३० गतेदेखि जेष्ठ १० गतेभित्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन गरिसक्नु पर्ने तालिका सार्वजनिक गरिएको छ ।