इलाम/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा डम्बर खड्कालाई जिताउने अभियानमा सहभागि भएका छन । बिहिबार चुनावी अभियान अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर अघि बढ्न सक्ने र राजनीतिलाई सेवासँग जोड्ने व्यक्तिको खाँचो रहेको बताए । उनले सामाजिक सेवामार्फत परिचित खड्काको जितले यो क्षेत्रको आवश्यकता सम्बोधन गर्न सक्ने उल्लेख गरे ।
महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए । ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ । पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ,’– महामन्त्री थापाले भने ।
०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए । उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा (एमाले) ले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ ।

Facebook Comments Box