दमक/ सबै बालबालिकाको बिद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नारासहित शैक्षिक सत्र २०८१ का लागि बिद्यार्थी भर्ना अभियान शुरु हुँदैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत केन्द्र अनुसन्धान तथा गुणस्तर शाखाले हरेक बर्षको बैशाखमा सञ्चालन गर्दै आएको यो अभियानलाई स्थानीयस्तरमा प्रभावकारी ढंगबाट सञ्चालन गर्न सबै स्थानीय तह, शिक्षा बिकास तथा समन्वय इकाइ र बिद्यालयहरुलाई सर्कुलर जारी गरेको छ ।
१८ चैतमा जारी गरेको यो सर्कुलरमा मन्त्रालयले ११ बुँदे निर्देशन गरेको छ । जसमा सबै स्थानीय तहलाई बिद्यार्थी भर्ना अभियान कार्यक्रमको नेतृत्व गर्न भनेको छ ।
कार्यक्रमका बिषयमा आवश्यक सूचना, समन्वय र सहजीकरणका लागि स्थानीय तहमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेरै जिम्मेवारी प्रदान गर्न पनि मन्त्रालयले निर्देशन गरेको छ ।
बिद्यालयलाई भर्ना अभियान सञ्चालन गर्न र शिक्षा बिकास तथा समन्वय इकाईहरुलाई आवश्यक समन्वय र सहजीकरण गर्न मन्त्रालयले निर्देशन गरेको जनाइएको छ ।
वैशाख पहिलो हप्ता नयाँ बिद्यार्थीहरुको स्वागत कार्यक्रम गर्न र दोश्रो हप्तादेखि नियमित पठनपाठनका साथ घरदैलो कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
सार्वजनिक जिवनमा रहेका व्यक्ति, कलाकार,राजनीतिक व्यक्ति, नागरिक समाज, पत्रकार, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, आमा समुह, शिक्षा क्षेत्रमा कार्यरत संघ संस्था आदिसँग हातेमालो गर्दै बिद्यालय बाहिर रहेका बिद्यालय उमेर समुहका बालबालिका, सीमान्तकृत समुदायका बालबालिका तथा अपाङगता भएका बालबालिकाको पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्न गराउन शाखाले गरेको सर्कुलरमा उल्लेख छ ।
सर्कूलरमा १५ चैतदेखिनै पाठ्यपुस्तक विक्री वितरण शुरु भइसकेको हुँदा बिद्यालयले समयमै पाठ्यपुस्तक खरिद गरी बैशाखको पहिलो हप्तामै वितरण गर्न, सञ्चार माध्यम, आमसञ्चार माध्यम टेलिफोन , इन्टरनेट तथा सामाजिक सञ्जालका माध्यमबाट सूचना प्रवाह गर्न पनि भनिएको छ ।
त्यस्तै अभिभावकबिहिन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने तथा त्यस्ता बालबालिकालाई निरन्तर सहयोग गर्ने व्यक्तिहरुको पहिचान, सम्मान र अभिलेख राख्ने व्यवस्था मिलाउन, बिद्यालय व्यवस्थापन समितिबाट बिद्यार्थी भर्ना अभियान कार्यक्रमको कार्यतालिका स्वीकृत गरी सोही अनुरुप अभियान सञ्चालन गर्न पनि भनिएको छ ।