दमक/ दमक उद्योग वाणिज्य संघले केही दिन अघि इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हाल्न आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) निशान थापासँग परिचयात्मक तथा व्यवसायिक सुरक्षाका बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संघले आइतबार आफनो बैठक कक्षमा डिएसपी थापासँग अन्तरक्रिया गर्दै व्यवसायीहरुको सुरक्षासँगै स्थानीयस्तरमा प्रहरी प्रशासनले ध्यान दिनुपर्ने बिषयहरुका बारेमा जानकारी गराएको हो । सो अवसरमा डिएसपी थापाले कानुन सम्वत हुने कुनै पनि क्रियाकलापमा प्रहरीले अवरोध नगर्ने भन्दै व्यवसायीहरुका अतिरिक्त समाजका सबै जिम्मेवार नागरिकहरुसँग संस्थागत सम्बन्ध कायम राखेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले आफनो व्यक्तिगत र प्रहरीको सांगठनिक बुझाईमा उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संगठन भएकाले यससँगको सहकार्यसहित शान्ति सुरक्षामा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले नियम सम्मत व्यापार व्यवसाय सञ्चालन गर्दा शान्ति सुरक्षाको कोणबाट भरपुर सहयोग हुने भन्दै ढुक्क भएर व्यापार व्यवसायमा लाग्न आग्रह गरे ।
कार्यक्रममा व्यवसायीहरुले डिएसपी मनोज लामाको कार्यकाल प्रशंसनिय भएको उल्लेख गर्दै त्यो भन्दा अझ राम्रोसँग सुशासनको अनुभुति हुने गरि काम गर्न शुभेच्छा प्रकट गरे ।
दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठले स्थानीयस्तरमा रहेका शान्ति सुरक्षासँग सम्बन्धित बिषयहरुका बारेमा अवगत गराउँदै व्यवसायिक क्षेत्रलाई भयरहित कायम राख्न सुझाव दिए । संघका अध्यक्ष गोपाल गुरागाइँले व्यवसायीहरुलाई गैह्रकानुनी कारोबारमा संरक्षण गर्ने आफूहरुको नीति नरहेको स्पष्ट पार्दै कतिपय अवस्थामा मिटरब्याजीहरुले व्यवसायीहरुलाई फसाउने र न्यायलयलाई नै प्रभाव पार्ने गतिबिधिहरु गर्ने गरेकोप्रति डिएसपी थापाको ध्यानाकर्षण गराए ।

संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी टिकाराम खतिवडाले मिटरब्याजीहरुबाट धेरै व्यवसायीहरु पीडित भई पलायन हुने क्रम रहेकाले यसतर्फ सुक्ष्म अनुसन्धान गरेर आफ्नो कार्यकाललाई नमुना बनाउन डिएसपी थापालाई आग्रह गरे ।
अन्तरक्रियामा संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, लेखा संयोजक नेत्र चम्लागाइँ, कार्यसमिति सदस्य चन्द्र खत्री, सल्लाहकार तिर्थराज बस्नेत, फर्निचर व्यवसायी संघका सुरेन्द्र श्रेष्ठ, किराना व्यवसायी संघका कृष्ण अधिकारी , होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भिविन्द्र न्यौपाने लगायत व्यवसायी अगुवाहरुले शान्ति सुरक्षाका सवालमा प्रहरीले निर्वाह गर्नुपर्ने भुमिकाबारे आआफनो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका वरिष्ठ उपाध्यक्ष राजु खड्काले गरेका थिए ।
