दमक/ दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व चयनका लागि पहिलो चरणमा क्षेत्र तथा खुल्ला तर्फका प्रतिनिधि (सदस्य)हरु र लेखा समितिको निर्वाचन सम्पन्न भएको छ ।

कूल ६ वटा क्षेत्र (ब्लक) रहेको दमक खानेपानीको शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम शनिबार दिउँसो सार्वजनिक भएको हो । यसपटक पनि दमक खानेपानीको निर्वाचनमा दलहरुका प्यानल चुनावी मैदानमा उत्रिएका थिए । दलहरुले प्रतिष्ठाको बिषय बनाउने गरेको यसपटकको निर्वाचनमा नेपाली काग्रेस , राप्रपा र लिम्बुवान समिर्थत संयुक्त लोकतान्त्रिक प्यानल भनिएको टिमले बहुमत हासिल गरेको छ ।

एमाले, माओवादी र जसपासहितको अर्को प्रगतिशील गठबन्धन समुहले पनि संस्थामा प्रतिनिधित्वको अवसर पाएको छ । यसपटकको दमक खानेपानीको निर्वाचनमा केही रोचक पक्षहरु पनि देखिएका छन । स्वतन्त्र टिम भनि घोषणा गरिएको रास्वपा समर्थित नेता,कार्यकर्ताहरु उम्मेदवार रहेको समुहले एउटा पनि पद जित्न सकेन ।

कांग्रेस नेतृत्वको टिमले यहाँका कूल ६ क्षेत्र मध्ये एउटामा बाहेक सबै क्षेत्रमा जित हासिल गर्यो । कांग्रेस नेतृत्वको टिमले यस अघि जित्दै आएको क्षेत्र २ ( दमक ५ र ४ को आंशिक ) भुगोलबाट भने प्रतिनिधित्व गुमाएको छ । यहाँबाट उम्मेदवार रहेका कांग्रेसका धनबहादुर भट्टराई एमालेकी पार्वता ढकालसँग पराजित भएका छन । भट्टराई दमक खानेपानी स्थापनाको इतिहासदेखिनै यो संस्थामा जोडिएका सामाजिक क्षेत्रमा क्रियाशील छन । उनी एमाले सम्बद्ध अनेमसंघकी नेतृ एवं एमाले दमक ५ का वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालकी पत्नी पार्वता ढकालसँग पराजित भएका हुन । उनी बाहेक कांग्रेस राप्रपा गठबन्धनका अधिकांश उम्मेदवार विजयी भए ।

क्षेत्र १ मा नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका घनेन्द्रराज योङया कांग्रेसका वडा सभापति गजेन्द्र देवानसँग पराजित भए । राप्रपाबाट कांग्रेस हुँदै एक बर्ष अघि मात्रै एमाले बनेका योङया एमालेमा प्रदेश कमिटी मनोनित भएका थिए ।

एमाले अध्यक्ष केपी ओली संसदीय निर्वाचनमा उम्मेदवार बनेर झापा ५ मा लडेको बेला २०७९ मा एमालेमा प्रवेश गरेका उनी त्यअघि एक कार्यकाल कांग्रेसको महाधिवेशन प्रतिनिधि भइसकेका थिए ।
कांग्रेस महाधिवेशनमा एक पटक भाग लिन भ्याएका उनको पुरानो राजनीतिक पृष्ठभुमी भने राप्रपासँग जोडिएको थियो । एमालेमा प्रवेश गरेर मेयरको दाबी गर्न सक्ने सम्भावना बढेपछि एमाले नेता, कार्यकर्ताहरुकै असहयोगका कारण उनी खानेपानीको चुनावमै पराजित हुन पुगेका स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।

खानेपानी निर्वाचनमा कांग्रेसका हस्ती मानिने र खानेपानीका बिषयमा लामो समय अनुभव सम्हालेका वर्तमान अध्यक्ष रोशन गौतम चुनाव लड्ने अवसरबाटै बञ्चित भए । उनको क्षेत्र राप्रपासँगको सहकार्यका कारण राप्रपाको भागमा परेपछि गौतम चुनावी दौडमा सहभागी हुनै पाएनन भने उनको क्षेत्रमा राप्रपाका कुमार निरौला विजयी भए । एमालेका बुद्धिशेखर भट्टराईलाई हराउँदै निरौलाले जित निकाले । क्षेत्र ३ मा निरौला विजयी भए भने क्षेत्र ४ मा राप्रपाका उम्मेदवार चन्द्र थापाले सहज जित निकाले । थापा राप्रपाका पुराना कार्यकर्ता भए पनि त्यति सक्रिय थिएनन । यसपटकको चुनावले उनलाई राप्रपामा सक्रिय बनाएको छ ।

क्षेत्र ५ मा कांग्रेसका रवि न्यौपाने एमालेका कृष्णराज थापालाई हराउँदै जित निकालेर दमक खानेपानीको नेतृत्वका लागि अग्रसर भएका छन । दमक खानेपानीको पदाधिकारी चयन गर्ने क्रममा न्यौपाने अध्यक्ष बन्ने सम्भावना बोकेका नेता हुन । क्षेत्र ६ मा कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका विक्रम अधिकारी निर्वाचित भए भने कांग्रेस नेतृत्वले क्षेत्रतर्फ २ बाहेक अन्य पाँच स्थान र दुई महिला गरि ७ सदस्य पदमा जित हासिल गरेका कारण पनि कांग्रेसले यसपटक पनि अध्यक्षमा आफनो दाबी गरिसकेको बुझिएको छ ।

एमाले नेतृत्वको प्रगतिशील गठबन्धनले कार्यसमितिका नौ मध्ये क्षेत्र २ बाट एक जना र खुला महिलातर्फ एक जनाको जित निकालेको छ । एमालेबाट खानेपानीमा प्रतिनिधित्वका लागि खुल्ला महिला तर्फकी दुर्गा खनाल (काफ्ले) विजयी भइन भने कांग्रेसबाट दिलु सुब्बा र राप्रपाबाट रिता बस्नेत श्रेष्ठ निर्वाचित हुँदै गर्दा कांग्रेसबाट एमाले प्रवेश गरेकी नेतृ मिना कोइराला यसपटक खानेपानी संस्थाबाट रिङआउट भइन । यसपटकको चुनावले कांग्रेस यसअघि कांग्रेस छोडेर अन्य दलमा गएका पूर्व कांग्रेसहरु घनेन्द्रराज योङया मात्रै होइन मिना कोइराला र कांग्रेसका पूर्व वडा सभापति तथा राप्रपाका वर्तमान नगर अध्यक्ष हेमराज सुवेदीलाई समेत रिङआउट गरायो ।

लेखा समितिको संयोजकमा एमाले माओवादी गठबन्धनकी राधिका ओझा निर्वाचित हुँदै गर्दा सो पदमा कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवार रहेका राप्रपा नगर अध्यक्ष हेमराज सुवेदी पराजित हुन पुगे । सदस्यहरुमा ओझा नेतृत्वकै टिमका गायत्रा लामिछाने र हरि कुमार राई निर्वाचित भए ।  निर्वाचित कार्यसमितिको पहिलो बैठकले पदाधिकारी बाँडफाँडको टुंगो लगाउनेछ ।

यसपटकको मतदानमा खानेपानीका उपभोक्ताहरु ४ हजार ३ सय ५१ जनाले मतदान गरेका थिए ।

मतदान गर्न पाउने ६ हजार २सय ८२ मतदाता रहेका थिए ।

Facebook Comments Box