दमक/ झापाको कमल ५ स्थित मंगलमय माविमा कार्यरत प्रधानाध्यापक मोहन बगाले थापा विरुद्ध बिद्यार्थीमाथि कुटपिट गरेको आरोपमा अभद्र व्यवहार सम्बन्धि मुद्धा दर्ता भएको छ ।
फेसबुकमा कमेन्ट गरेको निहुँमा एक जना छात्रालाई कुटपिट गरेको आरोप लागेका थापा विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा सो मुद्धा दर्ता भएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका उनी विरुद्ध पीडित छात्राका अभिभावकले जाहेरी दिएका इलाका प्रहरी कार्यालय दमकका डीएसपी प्रहरी नायव उपरीक्षक निशान थापाले जानकारी दिए ।
शुक्रवार सो मुद्धामा उनलाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप आदेश लिएर थप अनुसन्धान शुरु गरिएको डिएसपी थापाले बताए ।
तीन दिन अघि प्रधानाध्यापक बगालेले छात्रालाई पाइपले हिर्काउँदा दुवै खुट्टामा निलडाम बसेको थियो । घटनाको भोलीपल्ट सामाजिक सञ्जाल मार्फत ति छात्रामाथि कुटपिटको घटना बाहिर आएपछि प्रधानाध्यापक बगालेको त्यस्तो हर्कतको चौतर्फी आलोचना शुरु भएको थियो भने सोही दिन कमल गाउँपालिकाले समेत सो घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो ।
कानुनी उपचारमा अभिभावक गएपनि घटनाका बिषयमा स्थानीय सरकारले छानबनि गरी २४ चैत भित्र प्रतिवेदन बुझाउने गरी छानबनि समिति बनाएको हो । प्रधानाध्यापक बगाले नेपाल शिक्षक महासंघका कमल गाउँ समिति अध्यक्ष समेत हुन् ।
राजनीति दलहरुद्धारा कारवाहीको माग
कमलमा क्रियाशील विभिन्न ६ वटा राजनीतिक दलहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्ने प्रधानाध्यापक वगालेलाई कारवाही गर्न माग गरेका छन् ।
शुक्रवार संयुक्त विज्ञप्ति निकालेर कमल –५ स्थित मंगलमय माविकी कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई फेसबुक कमेन्ट गरेको निहुँमा कुटपिट गर्ने प्रअ बगालेलाई हदैसम्मको कारवाहीको माग गरेका हुन् ।
कमल गाउँपालिका बालमैत्री घोषणा भईसकेको अवस्थामा प्रअ बगालेको यस्तो अमानवीय हर्कत खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र , राप्रपा , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , जनता समाजवादी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।