दमक/अब हरेक महिनामा २ पटक दमक नगरपालिकाको आयोजनामा नसर्ने रोगहरुको निशुल्क परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

केएचडीसी कार्यक्रम अन्तर्गत मुटु, मृगौला, मधुमेह तथा रक्तचापको निशुल्क चेकजाँच सेवा शुरु गर्न लागिएको नगरपालिकाले जनाएको हो ।
धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान केएचडीसी कार्यक्रम र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा शुरु हुने यो कार्यक्रमको औपचारिक शुरुवात यहि कार्तिक ३ गते हुनेछ ।
सो बारेमा आज नगरपालिकाले पत्रकार भेटघाट गरि जानकारी गराएको हो । मुटु, मृगौला, रक्तचाप तथा मधुमेह जस्ता नसर्ने रोगका रोगीहरुको संख्या बढ्दै गएको र यसको नियन्त्रणका लागि नियमित चेकजाँच आवश्यक रहेकाले नगरपालिकाले निशुल्क सेवा शुभारम्भ गर्न लागेको उपप्रमुख गीता अधिकारीले जानकारी दिनु भयो ।

हाल प्रत्येक २ सातामा एक पटक यो सेवा दिईने र क्रमिक रुपमा वडा स्तरमा समेत यो सेवा पुर्याउने नगरपालिकाको लक्ष्य छ । दमकस्थित रेडक्रस भवनमा यो सेवाको औपचारीक शुभारम्भ गरिने नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिए ।
नगरप्रमुख रोमनाथ ओलीको उपस्थितीमा भएको पत्रकारा भेटघाटमा रेडक्रस उपशाखाका सभापति प्रकाश बुढाथोकी, पूर्व सभापति लिला गुरागाँईले सेवाका बारेमा जानकारी दिएका थिए ।
गत वैशाखमा दमकको रेडक्रस सभाहलमा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाको प्रमुख उपस्थितीमा औपचारिक कार्यक्रम गरी रेडक्रसद्धारा सञ्चालित सामुदायिक अस्पतालमा यस किसिमको सेवा प्रदान गरिने जनाइएको भएपनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।

Facebook Comments Box