दमक/ झापाको कमल ५ साविक लखनपुरस्थित मंगलमय माविका प्रधानाध्यापक मोहनकुमार बगालेले एक जना छात्रामाथि गरेको निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि स्थानीय सरकारले कारवाहीको प्रतिबद्धतासहित तीन दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन छानबिन समिति बनाएको छ ।

गाउँपालिकास्तरीय शिक्षा समितिका अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बुधबार बसेको शिक्षा समितिको बैठकले कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बैठकपछि पालिका अध्यक्ष राईको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा बिद्यार्थीमाथी कुटपिटको घटनाबारे सत्य तथ्य छानबिन गरि आगामी २४ चैत भित्र प्रतिवेदन बुझाउन निर्देशन गरिएको  छ ।

विज्ञप्तीमा छानबिनबाट दोषी देखिएमा कुटपिटमा संलग्न निज (प्रधानाध्यापक) माथि शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुन अनुसारको कारवाही गर्न शिक्षा समिति प्रतिबद्ध रहेको पनि उल्लेख छ ।
सामाजिक सञ्जाल मार्फत बुधबार बिहान सो बिद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटामाथि बगालेले फेसबुकमा गरेको कमेन्टलाई आधार बनाएर खुट्टामा निल डाम हुने गरी कुटपिट गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको हो ।

कमल –५ राधाकृष्ण टोल घर भएका बाँस्कोटा परिवारले बगालेले कुटपिट गरेको आरोप लगाएका हुुन् । ति छात्राको दुवै खुट्टामा पानीको पाईपले हिर्काउँदा बसेको निलडाम प्रष्ट देखिएको छ ।

प्रधानाध्यापक बगालेले ती विद्यार्थीलाई कुटपिट गरि अव उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउदै परिवारलाई लिखित कागजमा सहि छाप गराएर बिद्यार्थी अभिभावकको जिम्मा लगाएका थिए ।

नेपाल शिक्षक महासंघ कमल गाउँ समिति अध्यक्ष समेत रहेका प्रधानाध्यापक बगाले मंगलमय माविमा सञ्चालित एसईइ परीक्षा केन्द्रका केन्द्राध्यक्ष पनि हुन । सो बिद्यालय दमकमा नाम चलेका र पहुँचवाला बोर्डिङ स्कूलका बिद्यार्थीले परीक्षा दिँदै आएको परीक्षा केन्द्र पनि हो ।

कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको दुई महिना नबित्दै सो विद्यालयमा छात्रामाथि कुटपिटको घटना बाहिर आएको हो ।
घटनाका आरोपित प्रधानाध्यापक बगालेले निष्कर्ष न्यूजसँग घटनालाई सो ठाउँका एक व्यक्तिले सामाजिक सञ्जाल मार्फत उछाल्न खोजेको भन्नै संक्षिप्त प्रतिक्रिया दिएका छन ।

प्रधानाध्यापक बगालेले आफूले बिद्यार्थी कुटेको नभई सचेत गराएको र बिद्यालयको नियमानुसार लिखित कागज गराई बिद्यालयबाट ति छात्रालाई सम्बन्धित अभिभावकको जिम्मा लगाइएको पनि जनाएका छन । बगालेले यसअघि ति छात्रासँग कनेक्सन भएका अर्का एक बिद्यार्थी (छात्र)ले फेसबुकमा फेक आइडी बनाएर आफूले बोल्नै नहुने खालका अश्लिल शब्दहरु लेखेर कमेन्ट गरेको पनि जिकिर गरे । उनले सो घटनाका पछाडी कतिपय सार्वजनिक गर्न नमिल्ने खालका कारणहरु भएको पनि तर्क गरेका छन ।

Facebook Comments Box