दमक/ झापाको दमकमा २०७१ सालदेखि हुँदै आएको दमक फुड फेस्टिबललाई यस बर्ष पनि निरन्तरता दिइने भएको छ ।
होटल व्यवसायी संघ दमकको आयोजनामा हुँदै आएको फुड फेस्टिबलको १० औं संस्करण यो बर्ष २३ चैत देखि ४ बैशाखसम्म सञ्चालन हुने जनाइएको छ । होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालले सांगितिक मनोरञ्जनसहित खाना महोत्सव सञ्चालन गरिने जानकारी दिए ।
आन्तरिक पर्यटन तथा मौलिक खानेकुराका परिकारहरुको प्रवद्र्धनमा यो महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको होटल व्यवसायी महासंघका कोशी प्रदेश समिति अध्यक्ष राजन दंगालले बताए ।
फेस्टिबलमा आउने पर्यटकहरुलाई दमकका लजहरुमा २० प्रतिशत सम्म र खानाका लागि होटलहरुमा १० प्रतिशत छुट दिइने स्किम समेत ल्याइएको छ ।
संघले आज शनिबार दमकमा पत्रकार सम्मेलन गरि दमक–७ स्थित पशुहाट मैदानमा सो फेस्टिवल सञ्चालन हुने सार्वजनिक गरेको हो ।
फेस्टिबलमा करिव १ लाख सर्वसाधारणले अवलोकन गर्ने तथा त्यसबाट रु ५० लाख बढीको कारोवार हुने अनुमान गरिएको संघका महासचिव समेत रहेका होटल व्यवसायी महासंघका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपानेले बताए ।
फेस्टिवलमा स्थानीय आदिवासी राजवंशी,ताजपुरिया,धिमाल,राई,लिम्बू,गुरुङ लगायतका जनजातिका दुई दर्जन बढी खाद्य परिकारका स्टलहरु रहने छन् भने दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति रहने न्यौपानेले बताए ।
फेस्टिवल अवधिमा दमकमा आउने पर्यटकलाई लक्षित गरि स्थानीय होटल तथा लजमा आर्कषक छुटको समेत व्यवस्था गरिएको कार्यक्रम संयोजक समेत रहेका न्यौपानेले बताए ।