दमक/ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको नयाँ नेतृत्व चयनका लागि आसन्न २३ चैतमा हुने निर्वाचनमा अधिकांश क्षेत्रमा त्रिपक्षीय र कतै चारपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
यसअघि प्रकाशन भएको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दिएका उम्मेदवारहरुले मनोनयन फिर्ताको लागि आज १६ चैत सम्मको समय तोकिएको थियो ।
मनोनयन फिर्ताको लागि तोकिएको समय पश्चात सार्वजनिक भएको उम्मेदवारहरुको नामावलीलाई नियाल्दा कतिपय क्षेत्रमा त्रिपक्षीय र कतिपयमा चौपक्षीय प्रतिस्पर्धा देखिएको हो । यद्यपी दमक खानेपानीको निर्वाचनले सर्वसाधारण उपभोक्ताहरुलाई भने खासै उत्साह जगाइरहेको देखिन्न ।
दलहरुले बलियो कसरत गरेरै निक्कै ठुलो खटपटिका बीच उम्मेदवारहरुको टुंगो लगाएपनि यसमा दलीय प्रतिस्पर्धा नभई उम्मेदवारहरुकाबीच मात्रै प्रतिस्पर्धा छ । दलीय सिस्टममा दलमा आवद्ध उपभोक्ताहरुनै उम्मेदवार देखिएका हुन ।
उम्मेदवारको सूची अनुसार क्षेत्र १ को सदस्यमा गजेन्द्र देवान, घनेन्द्रराज योङया र बालकण्ठ निरौला उम्मेदवारका रुपमा छन । ति मध्ये राप्रपा र लिम्बुवानसहितको समर्थन रहेको भनिएको टिमबाट कांग्रेसका वडा सभापति समेत रहेका देवान उम्मेदवार बनेका हुन भने माओवादी केन्द्र र जसपासहितको समर्थन रहेको भनिएको टिमबाट एमालेका प्रदेश कमिटी सदस्य योङया उम्मेदवार बनेका हुन । उनी एक बर्ष अघि मात्रै कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका नेता हुन ।
क्षेत्र २ बाट चिन्तामणी खरेल, धनबहादुर भट्टराई र पार्वता ढकाल सदस्यका उम्मेदवार बनेका छन । खरेल स्वतन्त्र टिमका हुन भने धनबहादुर दमक खानेपानीका संस्थापक समेत रही अभिच्छिन्न रुपमा यस क्षेत्रबाट प्रतिनिधित्व गरिआएका कांग्रेस समर्थित उम्मेदवार हुन । ढकाल एमाले –माओवादीसहितको टिमबाट उम्मेदवार बनेकी हुन ।
क्षेत्र नं ३ बाट सदस्यमा कुमार निरौला, द्रोणकुमार बराल र बुद्धिशेखर भट्टराई उम्मेदवार छन । निरौला राप्रपा–कांग्रेससहितको टिमबाट र भट्टराई एमाले–माओवादीसहितको टिमबाट उम्मेदवार बनेका हुन भने बराल स्वतन्त्र टिमबाट उम्मेदवार बनेका बताइएको छ ।
क्षेत्र नं ४ बाट सदस्यमा चन्द्रबहादुर थापा , प्रेमबहादुर खत्री, मनप्रसाद साँवा र महेश पोखरेल उम्मेदवार छन ।
सो क्षेत्रबाट यसअघि उम्मेदवारी दर्ता गराएका प्रविण चाम्लिङले मनोनयन फिर्ता लिएका बताइएको छ । यो क्षेत्रमा उठेका थापा राप्रपा–कांग्रेससहितको टिमबाट र भट्टराई एमाले–माओवादी टिमबाट उम्मेदवार भएका हुन । साँवा र पोखरेल स्वतन्त्र भन्दै चुनावी मैदानमा छन ।
क्षेत्र नं ५ बाट सदस्यमा ओमनाथ बाँनिया, कृष्णराज थापा, मेघनाथ फुयाँल र रवि न्यौपाने खत्री केसी उम्मेदवार छन ।
ति मध्ये बाँनिया र फुयाँल स्वतन्त्र उम्मेदवारका रुपमा तथा न्यौपाने कांग्रेस– राप्रपाको टिम र थापा एमाले –माओवादी टिमबाट उम्मेदवार बनेका बताइएको छ ।
क्षेत्र नं ६ बाट सदस्यमा विक्रम अधिकारी , लक्ष्मीप्रसाद रेग्मी र शान्तिराम भट्टराई उम्मेदवार छन । अधिकारीलाई कांग्रेस–राप्रपासहितको , भट्टराईलाई एमाले–माओवादीसहितको र रेग्मीलाई स्वतन्त्र टिमको समर्थन रहेको बताइएको छ ।
उल्लेखित क्षेत्रका उम्मेदवारहरु मध्ये हरेक क्षेत्रबाट एक÷एक जनालाई मात्रै सदस्यका रुपमा चुन्नुपर्नेछ भने महिलाका लागि आरक्षित खुल्ला महिला कोटामा सबै क्षेत्रका उपभोक्ता (मतदाता)ले तीन जनालाई निर्वाचित गराउन मतदान गर्नुपर्नेछ । सोका लागि छत्रादेवी पौडेल ( अस्मिता), दिलकुमारी सुब्बा, दुर्गादेवी खनाल काफ्ले, निर्मला कटुवाल, बिष्णुमाया थापा भट्टराई, भुमिका कोइराला, मिनाकुमारी कोइराला, रिताकुमारी बस्नेत (श्रेष्ठ) र शान्ता तामाङको उम्मेदवारी कायम रहेको छ ।
त्यस्तै लेखा समिति संयोजक एकका लागि राधिका ओझा , लक्ष्मीप्रसाद फुयाँल र हेम सुबेदी गरी तीन जनाको उम्मेदवारी कायम छ । ओझालाई एमाले–माओवादीसहितको टिम , फुयाँललाई स्वतन्त्र टिम र सुवेदीलाई राप्रपा–कांग्रेससहितको टिमको समर्थन रहेको बताइएको छ ।
यो चुनावमा नेकपा एकीकृत (समाजवादी)ले एमाले–माओवादीसहितको टिममा रहेर एक जना उम्मेदवार खडा गरेको भएपनि टिम भित्रका एमाले नेताहरुले उपेक्षा गरेको भन्दै नेकपा एस टिमबाट बाहिरिएको सो पार्टीका जिल्लास्तरीय एक नेताले जानकारी दिए । रास्वपाले विज्ञप्ती मार्फत औपचारिक रुपमा आफनो दल चुनावमा सहभागी नभएको सार्वजनिक गरेता पनि सो पार्टीका जिम्मेवार कमिटीमा आवद्ध र समर्थित नेता, कार्यकर्ताहरु समुह बनाएरै चुनावमा खटिएका छन । यसले दमकमा पहिलो पटक संघ संस्थाहरुको चुनावमा रास्वपाको प्रभावको मापन गर्ने राजनीतिक वृत्तमा अनुमान छ ।
उम्मेदवारी दर्ताको एक साता वित्दै गर्दा चुनाव प्रचार प्रसारमा अधिकांश उम्मेदवारहरु र सिमित दलीय नेता, कार्यकर्ताहरु देखिएका छन ।
निर्वाचनका एक जना उम्मेदवार स्वयंको अनुभवमा यसपटकको खानेपानी निर्वाचनमा उपभोक्ता (मतदाता)हरु खासै उत्साहित देखिएका छैनन ।
खानेपानीको सेवा पाइरहेका उपभोक्ताहरु यो सेवा निरन्तर हुनेमा विश्वस्त भएका कारण पनि उम्मेदवारका अघिपछि लागेर हिंडनुपर्ने आवश्यकता नदेखेका हुन सक्ने कतिपयको बुझाई छ ।