धनगढी/नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको छ । फागुन २१ गतेपछि बनेको माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक समीकरण अनुसार सरकारमा जाने कि कांग्रेससहितको गठबन्धनमा जाने भन्नमा पार्टीभित्र विवाद चुलिएको हो ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएपछि पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत्र १४ गते कैलालीको टीकापुरमा केन्द्रीय संस्थापक सदस्यहरूको बैठक राखेकी थिइन् । सो बैठकले केन्द्रकै गठबन्धन अनुसार जाने र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
तर सो निर्णयको पार्टीका एकथरी पक्षले कडा रूपमा विरोध जनायो । सुदूरपश्चिम संसदीय दलका नेताले मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन कायमै रहने भन्दै टीकापुर बैठकको निर्णयको प्रतिवाद नै गरे । त्यसको भोलिपल्ट बिहीबार नाउपाका २ विनाविभागीय मन्त्री रहेका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइयो ।
सो जिम्मेवारी लिएको देखेपछि पार्टी अध्यक्ष श्रेष्ठ झन् कडा रूपमा प्रस्तुत हुँदै शुक्रबार प्रदेश सरकारबाट फिर्ता हुनु भन्दै संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन नै जारी गरिन् । फिर्ता नभए कारबाही गर्ने चेतावनी समेत उनले दिइन् ।

तर सो कारबाही गर्ने चेतावनी स्वरुपको पत्र सम्प्रेण गरेको केही घन्टामै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ नै एक्लिन पुगेकी हुन् । पार्टीका संस्थापक नेता दामोदर पण्डितको साथले टीकापुर बैठकबाट माओवादी एमालेसहितको सत्ता गठबन्धनको सबै तहको सरकारलाई साथ दिनुपर्ने निर्णय गराएकी थिइन् । तर उनै पण्डितले सो निर्णयमा आफ्नो कुनै समर्थन नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि उनी एक्लिन पुगेकी हुन् ।

Facebook Comments Box