दमक/ नेकपा एमाले झापा जिल्ला कमिटीको ११ औँ जिल्ला अधिवेशन बिहिबार शुरु हुँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा हुन लागेको पार्टीको यो अधिवेशनलाई एमाले इतरका दलहरु र सिंगो झापा जिल्लाबासीले महत्वसाथ हेरिरहेका छन ।
बिर्तामोडमा पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली यसका लागि बुधबारनै काठमाडौंबाट झापा आइसकेका छन ।
अधिवेशनका लागि १५ वटै पालिकाका १३१ वटा वडासहित विभिन्न जनवर्गीय संगठनहरुबाट प्रतिनिधिहरू चयन भइसकेका छन् ।
अधिवेशनमा गाउँ नगरको भूगोलबाट ४५८ जना प्रतिनिधि जिल्ला अधिवेशनका लागि छानिएका र जनवर्गीय संगठनहरूबाट ८९ जना, मजदुर क्लस्टरबाट ३० जना, झापा–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना प्रतिनिधिले भाग लिनेछन । त्यसैगरी अधिवेशन आयोजक जिल्ला कमिटीका पदाधिकारी सदस्यहरू १६७ जना, लेखा परीक्षण कमिटीका ७ जना र जिल्ला सल्लाहकार परिषद्का २५ जना गरी कूल ७८१ ज्नाले यो अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने छन । पार्टीमा केही प्रतिनिधिहरु मनोनित समेत गर्ने व्यवस्था छ ।
पार्टीका जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेका अनुसार जिल्ला अधिवेशनको अवसरमा दुई दर्जन व्यक्ति–व्यक्तित्वहरूलाई सम्मानित गरिनेछ ।
उनका अनुसार नेकपा एमाले झापालाई वर्तमान अवस्थामा ल्याउन योगदान गर्ने पार्टीका पूर्व जिल्ला प्रमुखहरू डिल्लीराम मैनाली (विनोद) काठमाडौँ, कालिदास श्रेष्ठ (चिन्तन) गौरादह ५, अमृतकुमार बोहरा काठमाडौँ ३, मनकुमार गौतम बिर्तामोड १, नरेश खरेल बिर्तामोड ५ र देवीप्रसाद ओझा काठमाडौँलाई कदरपत्र प्रदान गरिनेछ ।
अधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भएपनि सो सम्बन्धि कार्यक्रमको तालिका बाहिर आएको छैन । अधिवेशनमा पार्टीको जिल्ला नेतृत्व (अध्यक्ष) का लागि मुख्यतया दुई जनाको दाबी रहेको बुझिएको छ ।
पार्टी नेताहरुका अनुसार एमालेको जिल्ला अध्यक्षका लागि हालका कार्यवहाक अध्यक्ष एवं पूर्व सांसद समेत रहेका प्रेम गिरीको नाम कार्यकर्ताहरुमाझ आएको छ । उनीसँगै हालका जिल्ला कमिटी सचिव शिव ढुंगेलले पनि आफनो दाबी कार्यकर्ताहरुमाझ अनौपचारिक रुपमा पेश गरिसकेका छन । गिरी र ढुंगेल दुवैको दाबेदारी अनुसार पार्टीका वडा वडामा भएको प्रतिनिधि छनौटमा यि दुई पक्षका प्रतिनिधिहरु चयनमा बिगत केही महिनादेखिनै ठुलो रस्साकस्सी जिल्लामा चलिसकेको छ ।
यदि नेतृत्व चयनका लागि मतदानको प्रकृयामा गएको अवस्थामा गिरीको बलियो प्रभाव क्षेत्रका रुपमा झापा क्षेत्र नं १ र २ को भुगोल भएको नेता, कार्यकर्ताहरुमाझ चर्चा छ ।
क्षेत्र नं ३ र ४ मा भने तुलनात्मक रुपले गिरीको प्रभाव कम र ढुंगेलको प्रभाव बढी देखिएको समाचार स्रोतहरुको दाबी छ । क्षेत्र नं ५ भित्रका वडाहरुबाट चुनिएका प्रतिनिधिहरु यो अधिवेशनमा निर्णायक हुने चर्चा एमाले भित्र छ ।
यो क्षेत्रबाट गिरी र ढुंगेल मध्ये कसका प्रतिनिधिहरु बढी भन्दा पनि पार्टी अध्यक्ष ओलीको निर्देशन कस्तो आउँछ ? भन्ने पर्खाइमा रहेका बुझिएको छ ।
निर्वाचन भएको अवस्थामा ओलीको आफनो निर्वाचन क्षेत्र समेत भएको र यो क्षेत्रमा प्रतिनिधिहरुमाझ ओली आफैं र नेताहरु देवेन्द्र दाहाल, हिक्मत कार्की, दिपक कार्की, होम बहादुर थापा , गोविन्द थापा लगायतले सोझै प्रभाव राख्ने भएका कारण पनि यि नेताहरुले गिरी र ढुंगेल मध्ये कसलाई बढी चाहन्छन ? उनै पार्टी जिल्ला अध्यक्ष बन्न सक्ने सम्भावना बढी हुन्छ । जिल्लामा यिनै नेताहरुले आआफनो अनुकुल कार्यकर्ताहरुको समुह सक्रिय बनाएका कारण निर्वाचनको माहोल बन्दै गएको बुझिएको छ । यसपटकको पार्टी अधिवेशनमा झापा क्षेत्र नं ४ का सांसद समेत रहेका नेता एलपी साँवाको भुमिकालाई पनि निक्कै महत्वसाथ हेरिएको छ । साँवा भुगोलमा सक्रिय भएर खट्ने नेताको रुपमा छन । गिरीको पक्षमा केन्द्रिय नेता हिक्मत कार्की, पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य दिपक कार्की लगायतले लविङ गरिरहेका र ढुंगेलको पक्षमा सांसद साँवा, प्रदेश सभा सदस्य समेत भइसकेका अर्का युवा नेता बसन्त बाँनिया, असारु राजवंशी लगायतका नेताहरु लागेका एमालेभित्र चर्चा छ । अध्यक्ष ओलीको गृह जिल्ला भएका कारण यहाँ ओलीले मतदानमा जानबाट रोकेर पार्टी नेतृत्व सर्वसम्मत चयन गर्न जिल्लास्थित नेतृत्वपक्तिंलाई दबाब दिने सम्भावना धेरै रहेको पनि एमाले भित्र आंकलन भइरहेको छ ।
त्यस्तो दबाब आएको खण्डमा गिरी अध्यक्ष बन्ने र ढुंगेललाई उपाध्यक्षमा मनाएर लैजाने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ ।

Facebook Comments Box