दमक/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुव्र्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ ।
बुधबार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यमा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रमकाबीच सोको शुभारम्भ गरिएको हो ।
प्रमुख अतिथि खापुङ तथा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोईरालाले “दुव्र्यसन विरुद्ध आमाहरु” कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका थिए ।
सो अवसरमा खापुङले वालबालिकाहरुसंग आमाहरुले वढी समय दिनुका साथै उनीहरुको बानी व्यहोराको समेत जानकारी राख्ने भएको हुँदा आफ्नो छोरा छोरी लागुऔषधको कुलतमा फसे नफसेको तथा वानीव्यवहारमा आएको परिवर्तन आमाहरुले सहजै महसुस गर्ने भएकोले आमाहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको बताए । यो कार्यक्रमले लागू औषध दुव्र्यसनीबाट हुने अपराध न्यूनिकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने उनको विश्वास छ ।
यो अभियान कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा सञ्चालन गरिनुका साथै स्थानीय स्कुल कलेजका विद्यार्थी, श्रमिक वर्गका बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका वासिन्दा, लागूऔषध सेवनकर्ता, अन्तराष्ट्रिय सिमानासँग जोडिएका बस्तीका वासिन्दाहरु, लागुऔषध प्रभावित स्थानिय तह हरूमा नेपाल प्रहरीले स्थानिय निकायका बिभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी सञ्चालन गरिने जनाइएको छ ।

बेलबारी नगरपालिकाकी उपप्रमुख कोईरालाले नेपाल प्रहरीले युवाहरुलाई लागुऔषधको कुलतबाट जोगाउन शुभारम्भ गरेको “दुव्र्यसन विरुद्ध आमाहरु” कार्यक्रमलाई स्थानिय तहले साथ र सहयोग गर्ने बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक नवराज कार्कीले स्वागत राखेका भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागुऔषध दुर्वसनी विरुद्धको सचेतना सम्वन्धि प्रस्तुति राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण बिराटनगरका प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, आन्तरिक मामिला मन्त्रालयका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, महिला प्रतिनिधिहरु संचारकर्मी, विभिन्न संघ संस्था आवद्ध आमा समुह, लागु औषध दुव्र्यसनी विरूद्ध सुधार गृहका प्रतिनिधि, स्थानिय बुद्धिजिवि, व्यवसायी तथा स्थाननियवासीहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box