दमक/ देशभरका बालबालिकाहरुलाई भिटामिन खुवाउने सरकारको कार्यक्रम अन्तर्गत यस बर्ष दमकका ७ हजार बालबालिकाहरुलाई भिटामिन ए को क्याप्सुल खुवाउने तयारी भएको छ ।
दमक नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले कार्तिक २ र ३ गते नगरका १ वटै वडाका करिब ७ हजार बालबालिकालाई भिटामिन ए खुवाउनका लागि नगरका ५० जना स्वास्थ्य स्वयंसेविकाहरु परिचलान गरिएको जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा बालबालिकालाई भिटामिन ए खुवाउने जानकारी दिनु भयो । सो बाहेक नगर भित्रका स्वास्थ्य केन्द्र तथा दमकको सरकारी अस्पतालबाट समेत भिटामिन ए खुवाइने भएकाले आफूलाई पायक पर्ने स्थानमा आआफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ए खुवाउन आव्हान गरिएको अर्यालले बताउनु भयो । यस बर्ष राष्ट्रिय कार्यक्रम अन्तर्गत देशभर जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि(अल्वान्डाजोल), छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।
बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा सोही संख्यामा स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो ।