दमक/ धनबहादुर भट्टराई दमकको खानेपानी इतिहासमा उपभोक्ताहरु माझ गिनेचुनेको नाम हो । दमक नगरपालिका वडा नं ५ मा स्थायी बसोबास गर्दै आएका धनबहादुरको नाम र दमक खानेपानी एकअर्काका पर्याय जस्तै बनेका छन । धनबहादुरको पहिचान भनौं या परिचय दमकको खानेपानीसँगै जोडिन्छ । धनबहादुरलाई खानेपानीको परिपुरकका रुपमा लिने उपभोक्ताहरुको पनि कमि छैन यहाँ ।
दमकमा खानेपानीको प्रसंग आउनासाथ धनबहादुरको नाम जोडिन्छ र धनबहादुर नाम आउनसाथ खानेपानीका ? भन्नेहरु धेरै भेटिन्छन । दमक खानेपानीमा धनबहादुरको यो पहिचान छोटो समयको र सानो तिनो मेहनतको फल भने हुँदै होइन ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा धनबहादुरको इतिहास २५ बर्ष लामो हो , त्यो पनि अभिच्छिन्न रुपमा ।
यो संस्थाको संस्थापक तदर्थ समितिमा रहेरनै यहाँ खानेपानी स्थापनाको लागि महत्वपूर्ण योगदान गरेका धनबहादुर २०५५ सालदेखि हाल सम्म यो संस्थाको हरेक निर्वाचनमा यस क्षेत्रका बहुसंख्यक खानेपानी उपभोक्ताहरुको रोजाईमा पर्दै आएका व्यक्तित्व हुन ।
उनले दमक खानेपानीसँग सम्बन्धित हरेक पटकका निर्वाचनमा उपभोक्ता मतदाताहरुको मन र मत दुवै जित्दै आएका छन । उनले बिष्णुहाङ लिम्बुको नेतृत्वमा रहेको दमक खानेपानीको तदर्थ समितिमा रहेर पहिलो पटक काम गर्ने मौका पाए ।
खानेपानी स्थापनामानै अग्रणी भुमिका निर्वाह गरेका भट्टराईले २०५५ साल कार्तिक ४ गते खानेपानीमा पहिलो पटक निर्वाचित भएर जिम्मेवारी सम्हालेका थिए ।
राजनीति भन्दा सामाजिक क्षेत्रमा बढी क्रियाशील रहेर खानेपानी जस्तो मानव जीवनका लागि नभई नहुने आधारभुत आवश्यकता उपलब्ध गराउने कर्ममा लागिपरेका धनबहादुरले समितिमा निर्वाचित भएर पनि मुल समितिको नेतृत्व भने अहिले सम्म गर्न पाएका छैनन । खानेपानीमा मैंले पदलाई कहिल्यै पनि सानो ठुलोको रुपमा हेरिन साथीहरुबाट पाएको जिम्मेवारीलाई सदैव पुरा गरिरहें –धनबहादुरले खानेपानीको मूल कार्यसमितिमा पुगेर पनि अध्यक्ष नबन्नाको कारणबारे प्रष्ट्याउँदै भने ।
आर्थिक पारदर्शीता, निरन्तरको लगाव र मेहनतको परिणाम स्वरुप धनबहादुरलाई वर्तमान समितिले खरिद तथा मर्मत सम्भार संयोजकको जिम्मेवारी पनि दिएका छन । आफनो कर्तव्य र जिम्मेवारीबाट अलिकति विचलित हुन नचाहने धनबहादुरले अहिले सम्म कैयौं रात निन्द्राबाट उपभोक्ताको फोन कलका कारण ब्युँझिएर खानेपानीको धारा मर्मतको लागि स्पटमा पुगेका छन ।
खानेपानी एउटा संवेदनशील सेवा हो यसमा हामी गम्भिर बन्नैपर्छ –धनबहादुर भन्छन ।
दमकमा मात्रै होइन धेरै ठाउँमा बेला बेला खानेपानीको आपुर्तिमा हुने समस्या र पानीको गुणस्तरका बिषयमा उठेको प्रसंगबारे धनबहादुर भन्छन– ठाउँ विशेष फरक फरक कारण हुन सक्छन । तर हाम्रो खानेपानीको हकमा भने हाम्रो पानीको गुणस्तर शत प्रतिशत ठिक छ । हरेक १५÷१५ दिनमा हाम्रो पानीको ल्याब टेस्ट हुने गर्छ । यसको सर्भिसमा उपभोक्ताहरुले चित्त बुझाउनु भएकै मैंले पाएको छु । कहिलेकाहीं भावनामा आएर कसै कसैले केही नकारात्मक कुरा पनि गर्नुहुन्छ तर हामीले बुझाएपछि उहाँहरु कुरा बुझ्नु पनि हुन्छ ।
उनको बुझाईमा बेला बेला पानीको आपूर्ति अकस्मात बन्द हुनुको कारण भनेको पूर्वाधार बिकाससँगनै जोडिन्छ ।
उनका अनुसार दमकको पानीको मुहानमा वा उपकरणमा कुनै समस्या छैन, बेला बेला बाटो , ढल आदि निर्माणको सिलसिलामा पानीको पाइप फुट्न गई कहिलेकाहीं धारा सम्म आइपुग्दा केहीबेर त्यस्तो समस्या देखिने गरेको छ ।
यसको दिर्घकालिन समाधानका लागि नगरभित्रको अन्य पूर्वाधार बिकास गरिँदा ध्यान पुरयाउनु पर्छ । पहिला यो खाले समस्या धेरै थियो तर अहिले धेरै ठाउँमा यो समस्याको हल भइसकेको छ ।
आउँदो २३ चैतमा दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा दमकको वडा नं ५ को पुरै र ४ को आंशिक भुगोल समेटेर निर्धारण गरिएको क्षेत्र २ का झण्डै १ हजार ८ सय घर धुरी उपभोक्ताको प्रतिनिधित्वका लागि हुन गइरहेको निर्वाचनमा आफना शुभचिन्तक र उपभोक्ताहरुको आग्रहमा आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेका भट्टराई निर्वाचनको दौरानमा छन ।
धनबहादुर भन्छन –मैंले खानेपानीमा बटुलेको लामो अनुभवलाई उपभोक्ताले उपयोग गर्न पाउनुहुनेछ ।