दमक/ झापाको शिवसताक्षी– झिलझिलेमा रहेको झिलझिले भेट्रान फुटबल क्लबले सोही ठाउँका पूर्व खेलाडी स्वर्गीय नविन राईको स्मृतिमा प्रदेशस्तरीय नविन राई स्मृति दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
झिलझिले मेट्रान क्लबले आज (शनिबार) पत्रकार सम्मेलन गरेर यही चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट कूल १० वटा टिमले प्रतिस्पर्धा गर्ने झिलझिले भेट्रान क्लबका संस्थापक तथा प्रतियोगिताका संयोजक जसु कुलुङ राईले जानकारी दिए ।
संयोजक राईका अनुसार प्रतियोगिता आयोजक क्लबका दुईवटा टिमले सहभागिता जनाउने छन ।
प्रतियोगितामा सुनसरीको रामधुनी, बिर्तामोड, चन्द्रगढीको सिविसी, धुलाबारी, हाम्रो भेट्रान धरान, दमक लखनपुर भेट्रान क्लब, आयोजक निलो, पूर्वेली भेट्रान बिर्तामोड र एभरेष्ट भेट्रान मोरङले भाग लिने आयोजकले जनाएको छ ।

क्लबका आर्थिक समितिका संयोजक सन्तोष थेगिमले प्रतियोगिताको विजेता टिमले नगद ७१ हजार र उपविजेताले नगद ४१ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने जनाएका छन । आर्थिक संयोजक थेगिमका अनुसार प्रतियोगिता सम्पन्न गर्न ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न, खेल–प्रेमीलगायत बैदेशिक रोजगारीमा गएको दाजुभाइहरुको सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ । आयोजकले प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरेको छ ।
झिलझिले भेट्रान क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा झिलझिले भेट्रान क्लबका टीम व्यवस्थापक मुकुम मेन्याङबो, झिलझिले गोल्डकपका अध्यक्ष रमेश लावोती, कराँते खेलका प्रशिक्षका दुर्गा उप्रेती, सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका सदस्य समिर चापागाई, युवा व्यवसायी प्रदिप कार्की, समाजसेवी क्लब झिलझिलेका राजु त्रिखत्री, काजी रिङ्गालुङ राई, तिलक राई, लगायतको उपस्थिति थियो ।
पूर्वखेलाडी तथा झिलझिलेका सामाजिक अगुवा नबीन राईको केही वर्ष अघि सवारी दुर्घटनामा निधन भएको थियो ।
स्वर्गीय राईको परिवारसंगको छलफलपछि यस वर्षको प्रदेशस्तरीय भेट्रान फुटबल प्रतियोगिता नबीन राई स्मृती बनाइएको आयोजक क्लबका सदस्य तथा शिक्षक राम भेटवालले जानकारी दिए ।