दमक/ झापाको दमक ६ मा सञ्चालित डेलिया मन्टेश्वरीले प्रथम बार्षिक उत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । मन्टेश्वरी प्राङगणमा सोमबार आयोजित औपचारिक कार्यक्रममा बिद्यार्थीहरुले मौलिक संस्कृति झल्किने पोशाकमा सज्जिएर विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
मन्टेश्वरीका सञ्चालक एवं प्रमुख दिपक न्यौपानेको अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपप्रमुख भट्टराईले समयको आवश्यकता र माग अनुसार अभिभावकहरुले आफना छोराछोरीलाई गुणस्तरीय शिक्षाको अवसर पाउनुपर्ने बताइन ।

उनले शिक्षामा निजी क्षेत्रले दिइरहेको योगदानले सरकारको लक्ष्य प्राप्तीमा पनि सघाइरहेको उल्लेख गरिन । उपप्रमुख भट्टराईले शिक्षामा रहेको सम्भावनाले अवसर पर्खिरहेको र त्यो अवसर राज्य एक्लैले प्रदान गर्न नसक्ने भएकाले निजी क्षेत्रले पनि भुमिका खेल्न सक्ने बताइन । मन्टेश्वरीका सञ्चालक न्यौपानेले स्मार्ट बिद्यालयका रुपमा डेलियालाई बिकास गर्न लागिपरेको बताए । उनले कक्षा ५ सम्म मात्रै डेलियाले कक्षा सञ्चालन गर्ने बताए । उनले पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन गराइने पनि बताए ।
