दमक/ झापा दमकका युवा व्यवसायी एवं दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिकाराम खतिवडाले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरेर विपन्न २५ परिवारको स्वास्थ्य बीमा गरिदिएका छन ।
खतिवडाले आफनो ३६ औं जन्मोत्सवको अवसर पारेर मंगलबार दमकका विभिन्न वडामा रहेका ति परिवारको एक÷एक लाखका दरले २५ लाख बराबरको स्वास्थ्य बीमा गरिदिएका हुन ।
नेपाल सरकारले पूर्व स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा ल्याएको स्वास्थ्य बीमाको कार्यक्रम अन्तर्गत हाल ३ हजार पाँच सय रुपैयाँ तिरेर एक परिवारका पाँच जना सम्मले एक लाख बराबरको स्वास्थ्य सेवा पाउँछन । यो कार्यक्रम स्थानीय सरकारले समेत सञ्चालन गरिरहेको छ ।
सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा पहुँच नपुग्दा कतिपय विपन्न र साधारण आर्थिक अवस्थाका परिवार अझै पनि यो कार्यक्रममा सहभागी हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै पाथीभरा कस्मेटिक सेन्टरका प्रोप्राइटर र होटल थ्री इनका सञ्चालक समेत रहेका खतिवडाले आफनो जन्मदिनमा यस्तो अनुकरणीय सहयोग गरेका हुन ।
लाभग्राही परिवारलाई मंगलबार दमक उद्योग वाणिज्य संघको कार्यालयसँगको समन्वयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच खतिवडाले बीमा वापत भुक्तानी गरिदिएको रकमको रसिद हस्तान्तरण गरे । सो अवसरमा खतिवडाले आफू पनि संघर्षबाटै आएको परिवारको एक सदस्य भएकाले जिवनयापनका लागि संघर्ष गरिरहेका परिवारलाई यस्तो सहयोग गर्न इच्छा भएको बताए । सो अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले व्यवसायीहरु पैसा कमाएर राज्यलाई कर मात्रै तिरिरहेका छैनन प्रत्यक्ष रुपमा राज्यले ल्याएका नागरिकको सेवासँग जोडिएका कार्यक्रमहरुमा साझेदारी र सहयोग गर्न पनि तयार छन भन्ने उदाहरणका रुपमा यसलाई लिन सकिने उल्लेख गरे । संघका वरिष्ठ उपाध्यक्ष राजु खडका, लेखा समिति संयोजक नेत्र चम्लागाइँ लगायतले पनि व्यवसायी सहयात्री खतिवडाले समाजमा दिएको योगदानको प्रशंसा गरे ।