दमक/ कोशी प्रदेश अन्तर्गतका भोजपुर र तेह्रथुममा शनिबार भएका अलग अलग आगलागीका घटनामा १० घर जलेर नष्ट भएका छन ।

भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेका छन् । मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए । उनका अनुसार मानवीय क्षति भने भएको छैन ।

सेना, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । तर तीव्र रुपमा हुरीबतास चलिरहेकाले आगो निभाउन समस्या भएको उनले बताए । त्यसैगरी तेह्रथुमको आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजार पुरानागाउँमा भएको आगलागीका कारण चार घर जलेका छन । त्यहाँ चौपाया पनि जलेर मरेका खबर छ । स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम र फणेन्द्र गौतम बस्दै आएका गोविन्द गौतमका ४ वटा फुसको छानो भएका घर र दुई वटा गोठ जलेर नष्ट भएका हुन ।

घर,घरमा भएका अन्नपात,लत्ताकपडा र चौपाय सहित लगभग १ करोड १५ लाख ३८ हजार बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जानकारी दिएको छ । स्याखोक जंगलबाट आएको आगोले सो क्षति गरेको हो । दुवै ठाउँमा लागेको आगो यो समाचार तयार पार्दा सम्म निभाउन सकिएको छैन ।

Facebook Comments Box