दमक/  स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउँदै आयुर्वेद तथा रैथाने खाद्य परिकारको उपभोगमा सरोकारवालाहरुले जोड दिएका छन ।
आयुर्वेद तथा रैथाने खाद्य परिकारको प्रवद्र्धनका लागि भान्सा तथा खान्की सुधार अभियानका बिषयमा जानकारी दिन दमक अरनिको सामुदायिक प्रतिष्ठानले आज बुधबार दमक नगरपालिकामा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले त्यस्तो जोड दिएका हुन ।
कार्यक्रममा दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख समेत रहेकी उपप्रमुख रेगिना भट्टराई ( प्रसाइँ)ले खाद्य स्वच्छताका लागि हरेक नागरिकले घरका भान्साबाटै सुधार गर्नुपर्ने बताइन । स्थानीय सरकार नागरिकहरुको स्वास्थ्यप्रति चिन्तित रहेको बताउँदै प्रमुख अतिथी भट्टराईले हरेक दिन जसो प्राण्घातक तथा जटिकल किसिमका रोगका बिरामीहरुको उपचारमा सहुलियत सिफारिस गर्नुपर्ने अवस्था रहेको बताइन । उनले रोग लागेपछि उपचारमा भन्दा रोग लाग्नै नदिन सजग हुनुपर्ने बताइन् ।
कार्यक्रममा रैथाने खाद्य परिकार बनाएर भारतका प्रशिद्ध होटलहरुमा नेपाली रैथाने खाद्य परिकारको प्रवद्र्धनमा योगदान दिइरहेका भारत भुषण राष्ट्रिय सम्मान र भारत गौरव सम्मान प्राप्त मास्टर सेफ साइ कुमार शर्मा मुख्य वक्ताका रुपमा रहेका थिए । उनले भारतका प्रशिद्ध होटलहरुमा नेपाली रैथाने खाद्य परिकारहरुको उपलब्धता र यसले मानव स्वास्थ्यमा पुरयाउन सक्ने फाइदाका बिषयमा चर्चा परिचर्चा गरे । उनले दमकमा रैथाने खाद्य परिकारको प्रवद्र्धनका लागि हुने सरकारी तथा निजीस्तर जुनसुकै प्रयासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । शर्माले आफ्नो बाल्यकाल दमकमानै बितेको स्मरण गर्दै बाध्यात्मक परिस्थितीका कारण आफू यहाँबाट भारत पुगेको र अन्तराष्ट्रियस्तर सम्म आफुले सेफको रुपमा रहेर गरेका कामहरु र प्राप्त पदक तथा सम्मानहरुले आफूलाई गौरन्वाति बनाएको पनि उल्लेख गरे ।

कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र दंगालले उपभोक्ताको स्वास्थ्यप्रति सजग भएर सेवा दिइने बताउँदै रैथाने खानेकुराहरुको प्रवद्र्धनका लागि नीतिगत पहल गरिनुपर्ने सुझाए ।  दमक अरनिको सामुदायिक प्रतिष्ठानका अध्यक्ष ताराबीर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव बिष्णु पोखरेलले गरेका थिए  ।

Facebook Comments Box