काठमाडौं/ राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश सोचेको जस्तो सहज स्थितिमा नरहेको बताउँदै अहंकार नगर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।
बुधवारको राष्ट्रिय सभा बैठकमा नेता सिटौलाले देश सामान्य हिसावले सोचेको जस्तो नरहेको बताएका हुन । उनले रुस युक्रेन युद्धमा फसेका नेपालीहरुलाई स्वदेश फर्काउने कुरामा सबै राजनीतिक दलहरु सत्तालाई छोडेर एक ठाउँमा उभिनुपर्ने बताए ।
नेता सिटौलाले सत्ता आफ्नो ठाउँमा छोडेर देशको हितका लागि काम गर्न आवश्यक रहेको बताए । उनले सधैँ आफूले भनेको नै हुन्छ भन्ने घमण्ड राख्नु नहुने पनि बताए ।
‘अहिले प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ, हामी अध्यक्षज्युलाई बधाई दिँदैछौँ । बडो संयोग जुटेको छ । एउटै पार्टीको एउटा नेता विश्वासको मत लिँदै हुनुहुन्छ र अर्काे यता बधाई थाप्दै हुनुहुन्छ ।
एउटा संयोग परेको छ । म के आग्रह गर्न चाहन्छु भने तपाईलाई पनि र प्रधानमन्त्रीज्युलाई पनि देश तपाईं हामीले सोचे जस्तो सजिलो ठाउँमा छैन । हामीले सोचेको जस्तो सजिलो तरिकाले हाम्रा विचारमा सधैँ लागू हुन्छन् भनेर अहंकार कसैले नगरे हुन्छ –नेता सिटौलाले भने ।
नेता सिटौलाले देशमा बेरोजगारीको अवस्था विकराल हुँदै गएको तर्फ ध्यान दिनुपर्ने बताए ।