दमक/ झापाको दमक –९ शान्तिचौकमा निर्माण रोकिएको नारायण ज्योती कभर्ड हल ( संशोधित नाम दमक कभर्ड हल) को निर्माणका लागि संघीय सरकारले राष्ट्रिय खेलकुद परिषद मार्फत झण्डै एक करोड रुपैयाँ छुट्टयाएपछि पुन निर्माण कार्य अघि बढाइने भएको छ ।
कर्भड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत सरकारले चालु आर्थिक बर्षमा ८५ लाख ४६ हजार ३ सय ८३ रुपैया वजेट छुटयाएका कारण यसको निर्माणले निरन्तरता पाउने भएको हो ।
सो योजनामा उपभोक्ता लागत सहभागिता पनि अनिवार्य गरिएको छ । सरोकारवालाहरुले सो योजना सम्पन्न गर्न केन्द्रबहादुर प्रसाइँको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन लागेका हुन ।
कभर्ड हल परिसरमा सोमबार कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्य र उपभोक्ता समितिका अध्यक्ष प्रसाइँको सभापतित्वमा प्रदेश सभा सदस्य नम्बरलाल धिमालको विशेष उपस्थितीमा सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरेर सो योजनाका बारेमा जानकारी गराइएको छ ।
प्रदेश सभा सदस्यद्धय थापा र धिमालले सो कभर्ड हल निर्माणका लागि आफूहरुले सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए । पाँच बर्ष अघि शुरु भएको सो कर्भड हल निर्माणस्थलमा घेराबेरा, सुरक्षा कक्ष ,पक्का भवन लगायतका प्रारम्भिक चरणका काम भईसकेका छन् ।
सो योजनाको डीपिआर अनुसार कभर्ड हल पूर्ण रुपमा सम्पन्न गर्न कूल १४ करोड लागत लाग्ने अनुमान छ । कभर्ड बनाउन नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक अमरसिंह साहले १० कठा जमीन निशुल्क दिएका थिए ।
दाता साहले आफना दिवंगत पितृको स्मृतिमा नारायण ज्योति बहुउद्देश्यीय कभर्ड हल बनाउन लाखौ मूल्य पर्ने सो जग्गा निशुल्क दिएका थिए । सोही जमिनमा सुविधासम्पन्न कर्भड हल बनाउने लक्ष्यसहित काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका सचिव अरुणकुमार अधिकारीले जानकारी दिए ।   दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज चौंलागाइँका अनुसार यसअघि सो कभर्ड हल निर्माणका लागि तत्कालिन जिल्ला खेलकुद बिकास समिति मार्फत पनि ५० लाख रुपैयाँ बजेट प्राप्त भई घेराबार, गेट निर्माण लगायतका कामहरु भएको बताए ।

उनका अनुसार निर्माणाधीन कभर्ड हल पाँच तले सुविधासम्पन्न हुनेछ । हल भित्र इन्डोरका सवै खेल खेल्न सकिने मैदानदेखि दर्शक रहने कक्ष निर्माण गरिने योजना छ ।

 

Facebook Comments Box