दमक/  झापाको दमक नगरपालिकाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरसँग जोडेर आज उद्यमी महिलाहरुबीच अनुभव आदनप्रदान कार्यक्रम गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको व्यवस्थापनमा भएको औपचारिक कार्यक्रममा दमक नगरका विभिन्न वडामा रहेका उद्यमी महिलाहरुले सामुहिक तथा निजी स्वामित्वको उद्यम सिर्जनामा स्थानीय सरकारले पुरयाएको योगदानको खुलेर प्रशंसा गरे ।
कतिपय सहभागीहरुले आफूहरुले नगरपालिका र अन्य दातृ निकाय तथा सहयोगी संस्थाहरुको सहयोगमा स्वरोजगार बन्ने प्रयत्नमा सफल भएको पनि बताए । उनीहरुले स्थानीयस्तरमा आफूहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण तथा प्रवद्र्धनका लागि भने नगरपालिकाले विशेष नीति बनाउनुपर्ने सुझाव समेत दिए ।
अपाङगता भएकाहरुले नगरपालिकाको समेत सहयोगमा होजियारी अर्थात गार्मेन्ट उद्योग सञ्चालन गरिरहेको भन्दै राष्ट्रिय अपाङगता संघकी अध्यक्ष पार्वता श्रेष्ठले सो गार्मेन्टका उत्पादनहरुको बजारीकरणमा विशेष सहयोग पुरयाउन नीतिगत पहल कदमी लिइदिन आग्रह गरिन ।


कार्यक्रममा लिड नेपालकी अध्यक्ष चञ्चला सुब्बाले आफूहरुलाई पनि समाजमा स्थापित गराउन सीप सिक्ने अवसर नगरपालिकाले प्रदान गर्दै आएको भन्दै प्रशंसा गरिन । उनले यौनिक अल्पसंख्यकहरुका लागि दमकमा हाल सौन्दर्यकला तालिम सञ्चालनमा रहेको साथै स्थानीय सरकारका हरेक गतिबिधिहरुमा सक्रिय सहभागिताको अवसर सिर्जना गरिदिएको पनि उल्लेख गरिन । त्यस्तै सिलाई कटाई तालिम सञ्चालन तथा उत्पादनमा लामो समयदेखि सक्रिय दमक ४ की देवी चौधरी तामाङले आफूलाई यो क्षेत्रमा निरन्तर लागिरहन स्थानीय सरकार र यहाँका अगुवाहरुले प्रेरित गरिरहेको उल्लेख गरिन ।
दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुखको समेत जिम्मेवारी सम्हालिरहेकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले नगरपालिकाले महिलाहरु आर्थिक रुपमा सवल भए मात्रै सबै किसिमका हिंसाबाट मुक्त हुन सक्ने भएकाले आर्थिक रुपमा सवल बनाउन उनीहरुमा सीपको बिकास र बजारको सुनिश्चितताका लागि नीतिगत पहल गरिरहेको बताइन ।


नगरपालिकाको सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोज लामाले महिलाहरुले कुनै पनि किसिमका हिंसा वा अपराध सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।  उनले आफनो कार्यालयले महिला बालबालिकाहरु सम्बन्धिका बिषयहरुमा हेर्ने गरि विशेष तालिम प्राप्त जनशक्तिसहित छुट्टै सेवा केन्द्र सञ्चालन गरिरहेको पनि उल्लेख गरे ।

कार्यपालिका सदस्य शोभा बेल्बाँसेले स्वागत मन्तव्य राखेको  कार्यक्रममा कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकृत चुडामणी न्यौपाने, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत यज्ञराज निरौला लगायतको विशेष आतिथ्य रहेको थियो ।  कार्यक्रममा महिला संघ संगठनको प्रतिनिधित्व गर्दै चन्द्राकुमारी खड्का, रिता श्रेष्ठ लगायतले पनि दिवसका सन्दर्भमा भनाईहरु राखेका थिए ।   कार्यक्रममा उद्यमी महिलाहरु , महिला सम्बद्ध संघ संस्था र संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सघन उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारीले गरेकी थिइन ।

Facebook Comments Box