दमक/ दमक ६ स्थित सिद्धकामेश्वर पशुपति धाम परिसरमा करिब साढे तीन करोडको लागतमा पशुपति सेवा सदन निर्माण सम्पन्न भएको छ ।
धाम परिसरमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको समापन तथा शिवरात्रीको अवसर पारेर शुक्रबार तीन तले सदनको उदघाटन गरिएको हो ।
सो भवनको कोशी प्रदेश सभाका सभामुख अमर बिष्ट र जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले उदघाटन गरेका छन ।
उदघाटन कार्यक्रममा सभामुख विष्ट, बालसन्त देवाचार्य, संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बु लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
झण्डै ५० प्रतिशत जनसहभागितामा निर्माण सुरु भएको १५ वर्षपछि भवन निर्माण गरेर उदघाटन गरिएको हो । विभिन्न दाताहरूबाट एक करोड ५४ लाख ९६ हजार ६५९ रुपियाँ प्राप्त भएको र बाँकी रकम संसद् विकास कोष, स्थानीय सरकारसहित विभिन्न सरकारी निकायहरूबाट प्राप्त बजेटले काम पूरा भएको निर्माण समितिले जनाएको छ । दमक नगरपालिकाका प्रमुख तथा धाम व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाका अनुसार ५० प्रतिशत अर्थात डेढ करोडभन्दा बढी आर्थिक जन सहभागिता रहेको छ ।

पशुपति सेवा सदनमा एक हजारसम्म मानिसहरू अटने सुविधायुक्त कार्यक्रम हलसहित एक सयभन्दा बढी बसोबास गर्न मिल्ने कोठाहरू निर्माण भएका छन् ।
सदन निर्माणमा स्थानीय सर्वसाधारण भक्तजनहरुले ठुलो आर्थिक सहयोग गरेका छन ।
सो भवन निर्माणका लागि नन्दी अधिकारीको अध्यक्षतामा रहेको निर्माण समितिले निर्माण सम्पन्न गरेको हो ।
यसको अगुवाई स्थापनाकालदेखिनै हालका दमक नगर प्रमुख तथा धामका अध्यक्ष रामकुमार थापाले गरेका थिए ।
२०६४ साल फागुन २२ गते आयोजित धार्मिक अनुष्ठानमा आचार्य पण्डित पुष्पलाल निरौलाले सो भवनको शिलान्यास गरेका थिए ।
सो ठाउँमा लगातार १८ बर्ष सम्म एक/एक पुराण सम्पन्न भइसकेको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसारका १८ पुराण सम्पन्न भएसँगै तत्कालिन पशुपति मन्दिर सिद्धकामेश्वर पशुपति धामका रुपमा परिणत भएको थियो ।
पशुपति मन्दिरको स्थापना लामा परिवारले दान दिएको स्थलमा निर्माण भएको हो । यसलाई दमककै ठुलो र भक्तजनहरुको विशेष आकर्षण रहने धार्मिकस्थलका रुपमा लिने गरिन्छ ।