इटहरी/ आगलागीमा परी सुनसरीको इटहरीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटुवाल छोरा–बुहारीसँग डेरामा बस्दै आएकी थिइन् । कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवाल पहिलेदेखिनै मानसिक रोगको औषधि सेवन गर्दै आएकी र कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।