दमक/ पूर्व क्षेत्रकै ठुलो र विशेष महत्व राख्ने विर्तामोडस्थित बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यवसायी नेता राजु न्यौपाने निर्वाचित भएका छन ।
आफना प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेसहित ६ दलका व्यवसायी समर्थित अर्जुनकुमार मैनालीलाई भारी मतान्तरले हराउँदै संघको अध्यक्षमा नेपाली कांग्रेस समर्थित न्यौपाने विजयी भएका हुन ।
न्यौपानेले कूल २ हजार २ सय २५ मत ल्याएर निर्वाचित हुँदा मैनालीले १ हजार ५ सय २० मतमा सिमित बने ।
चुनावी सरगर्मी बढदै जाँदा एक जना पत्रकारले ४५ प्रतिशत भन्दा बढी मत ल्याएर अध्यक्षमा मैनाली निर्वाचित हुने भन्दै कथित मत सर्वेक्षणको नतिजा समाचार मार्फत सार्वजनिक गरेका थिए ।
१४ फागुनमा भएको सो निर्वाचनको बुधबार (आज) बिहान अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
सार्वजनिक भएको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे १८२६ मत ल्याएर निर्वाचित भए भने उद्योग उपाध्यक्षमा २ हजार १सय ३ मत ल्याएर विशाल थापा निर्वाचित भएका छन । वाणिज्य उपाध्यक्षमा जिवनकुमार खडका र जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई निर्वाचित भइन । महासचिवमा कुशल खतिवडा निर्वाचित भएका छन भने उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह तथा कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा तिलोतमा खत्री निर्वाचित भएका छन ।