काठमाडौं/ संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने लघुवित्त पीडितहरूलाई मुद्दा चलाइने भएको छ ।
सोमबार दिउँसो निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेका ४९ जनालाई मुद्दा चलाउन ७ दिन म्याद लिइएको हो ।
उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
उनीहरू सबैजनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले प्रशासनबाट म्याद लिएपछि अब मुद्दा प्रक्रिया अघि बढ्ने भएको हो ।
पक्राउ परेका उनीहरूलाई काठमाडौँस्थित नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ ।
घटना छानबिनका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेशराज मैनालीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइसकेका छन् ।