काठमाडौं/ काठमाडौंको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट शुक्रबार राति ११ः४५ बजेतिर उद्धार गरेको हो ।
बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनीषा सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।
काँडाघारीस्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ । बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । प्रहरी स्रोतले भन्यो ‘ती महिलाले आफू सुत्केरी भएको भनेर घर परिवारलाई भनेकी रहेछिन् ।’
आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । ‘घरमा महिलाले बाटोमा बच्चा जन्माएर ल्याएको भनेको पाइयो, उनले परिवारलाई आफू गर्भवती रहेको भनेकी रहेछिन् । हामी उनको घरमा पुग्दा सुत्केरीजस्तै कोठामा गाउन लगाएर बसेकी थिइन्,’ प्रहरीले भन्यो ।
विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको छ । आरोपीहरूबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ