काठमाडौं / नेपाली राजनीतिमा फेरि सत्ता-सहकार्य फेरिनसक्ने विषयले चर्चा पाएको छ । यतिबेला नेकपा एमाले, नेकपा माओवादी केन्द्र र केही साना दलबीच सत्ता-सहकार्यको लागि समझदारी बन्न लागेको चर्चा भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बाध्यताको कारण दुई दलबीच सत्ता-सहकार्यको लागि नयाँ सहमति हुनसक्ने विश्लेषण भइरहेको छ । सत्ता गठबन्धनका मुख्य घटकहरू नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएसँगै एमाले नेतृत्वले माओवादीलाई आफ्नो विश्वासमा लिएर मुलुकको राजनीतिक कोर्स परिवर्तन गर्न खोजेको छ ।
यसबीच प्रचण्ड र ओली मंगलबार बसेका छन् । सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठकमा छलफल जारी रहेको र गठबन्धनलाई नै प्रभावित गर्नसक्ने बुझाइमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनका लागि एमालेसँग छलफल थालेका बताइएको छ । अहिलेको सत्तारूढ गठबन्धनबारे कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुन थालेको छ ।
कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व गर्न आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेर प्रधानमन्त्री भएका थिए । ‘कांग्रेस महासमिति बैठकमा भइरहेको छलफलले त्रसित प्रचण्डले आफ्नो कुर्सी सुरक्षित गर्न पुनः एमालेसँग हिमचिम बढाएको हुनसक्छ,’ एमालेका एक पदाधिकारीले भने ।
संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । कांग्रेस महासमिति बैठकमा गठबन्धन नै भत्किनेगरी भइरहेको छलफलका बीच ओलीले त्यसलाई अवसरका रूपमा लिएका छन् भने प्रचण्डले आफू नेतृत्वको सरकार जोगाउन एमालेसँग नजिकिएका हुन् ।
एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको टिप्पणीसमेत भइरहेको छ । यसअघिसमेत प्रचण्ड र ओलीबीच भेटघाट हुँदा गठबन्धनको हेरफेरबारे छलफल हुँदै आएको छ ।
एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, माओवादीका महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायतका नेताले वाम एकताका कुरा उठाउँदै आएका छन् । कतिपयले भारतमा हुने सन् २०२४ को निर्वाचनअघि भारतीयले अहिलेको सत्तारूढ गठबन्धन चलाउन नचाहेकै अवस्थामा चीनले भारतको निर्वाचनअघि नै कम्युनिस्टहरूबीच एकता गराई अहिलेको सत्तारूढ गठबन्धन टुटाउन खोजेको छ ।
प्रचण्ड र ओलीबीच नयाँ गठबन्धनबारे छलफल भएको भनिएपनि बालुवाटार स्रोतले भने प्रधानमन्त्रीले टीआरसी विधेयकलाई टुंगो लगाउने लगायतमा छलफल भएको दाबी गरेको छ ।