दमक/ हरिमाया लिम्बु (बर्ष ४१ ) पाँचथरको मेमेङबाट भर्खरै मधेस झरेकी हुन ।
एक हातले ६ बर्षको छोरा बसन्तलाई डोहोरयाउँदै अर्को हातमा एउटा झोला बोकेर दमकका घर पसलमा चाहर्नु उनको यतिबेलाको दैनिकी बनेको छ ।
यो उमेरमा अरुका घर -घरमा सहयोगको लागि हात फैलाउँदै पुग्नु उनको रहर पटक्कै होइन ।
तीन बर्ष अघिनै पेट दुख्ने र पोल्ने समस्याले सताएपछि उनले पाँचथरबाट सोझै झापा आएर मेची अस्पताल भद्रपुर र दमकको आम्दा अस्पतालमा जाँच गराएकी थिइन । उनलाई त्यही बेलादेखि डाक्टरहरुले आन्द्रामा क्यान्सरको लक्षण शुरु भएको बताएका थिए । उनकै भनाई अनुसार रोग लागेको थाह पाउनसाथ पति कुमार लिम्बु दोश्रो बिहे गरेर भारततिर लागे । गएदेखि उनको अत्तोपत्तो छैन । रोग दिन दिनै बढदै गयो ।
अहिले अस्वभाविक आकारमा उनको पेट फुलेको छ । काखको छोरोले अक्षर चिन्न स्कूल जाने बेला बित्दै गएको छ । आफनो शरिरमा रोगले च्याप्दै गएपनि हरिमायाका मनमा छोरो पढाउने हुटहुटीले पिरोल्न थाल्यो । यही हुटहुटीले हरिमायालाई पछिल्लो समय पहाडदेखि मधेस ( दमक) सम्म ल्याएको बताउँछिन । भन्छिन–मेरो जिन्दगी त यस्तै उस्तैमा वित्ने भो यो छोरोलाई पढाउन सहयोग मिल्छ कि भन्ने आशाले सबैसँग हात फैलाएकी हुँ ।
पैसाकै लागि भन्दा पनि यो छोराको भविष्यका लागि मैंले यसो गर्नु परेको हो । उनले छोरालाई कसैको जिम्मामा छोडिदिँदा पढाइदिने भन्नेहरु पाएकी छिन तर काखको एउटा सन्तान त्यसरी सबै कुरा अरुको जिम्मामा लगाउन मन भने लागेको छैन । हरिमाया भन्छिन– यति सानो छोरो यसलाई खुवाउनु, पियाउनु पर्यो, लुगाफाटो धोइदिनु पर्यो कसैले नानी लगेर त्यस्तो गर्लान कि नगर्लान त्यो टुंगो पनि हुँदैन । जतिञ्जेल बाँच्छु छोरो साथैमा राखेर पढाउन चाहेकी हुँ । हरिमायाको यो अवस्था देखेर कतिपयले पत्रकारहरु भएको ठाउँमा जानु सहयोग मिल्छ भनेको उनले बताइन । दमकमा आएर एउटा कोठा भाडामा बस्दै छोरो पढाउनका लागि सहयोग मागिरहेकी हरिमायाका आफन्तहरु हुँदै नभएका त होइनन । तर उनीहरुले आफनो अवस्था देखेर गरेको वेवास्ताका कारण ति आफन्तहरुको बारेमा उनी धेरै केही भन्नै चाहँदिनन । उनलाई सहयोग गर्न चाहने जो कोही मनकारी दाताहरुले ९७०६१४०१६१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।