दमक/ दमक नगरपालिका ७ नम्बर वडा कार्यालयले वडा भित्रका करिब ६० जना ज्येष्ठ नागरिकहरुलाई उपहारसहित सम्मान गरेको छ ।

वडा कार्यालयमा सोमबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच ८० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सो सम्मान गरिएको वडा सचिव योगेश भट्टराईले जानकारी दिए । औपचारिक कार्यक्रममा उपस्थित हुन नसकेका ज्येष्ठहरुलाई घरघरमै पुगेर पनि जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले सम्मान गरेको उनले बताए ।

दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रममा वडा सदस्यहरु इन्दु पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेकी थिइन ।

सो अवसरमा प्रमुख अतिथी नगर प्रमुख थापाले नगरपालिकाले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारदेखि विभिन्न राहत सहयोगसहित सम्मानका कार्यक्रममा वडा वडामा सञ्चालन गरिरहेको बताए ।

ज्येष्ठ नागरिकहरुको समाजका मार्गदर्शक भएको हुँदा स्थानीय सरकारले सदैव ज्येष्ठहरुलाई सेवासहित सम्मान गर्ने नीति लिएको बताए ।

वडाध्यक्ष भिमप्रसाद पौडेलले वडा भित्रका कोही पनि नागरिकहरु आधारभुत आवश्यकताबाट बञ्चित हुनु नपर्ने भन्दै गाँस, बास र कपासको यथोचित ग्यारेन्टी गरिएको उल्लेख गरे ।

वडा सदस्य अतित बान्तवा राईले सञ्चालन गरेको सो कार्यक्रममा लाभग्राही ज्येष्ठ नागरिकहरुलाई न्यानो च्यादर ओढाएर सम्मान गरिनुका साथै पानी तताउने इलेक्ट्रोनिक्स जग उपहार स्वरुप प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख थापा, वडाध्यक्ष पौडेल, वडा सदस्य राई, तारादेवी रणपहेंली र मानबहादुर खवासले ज्येष्ठ नागरिकहरुलाई ति उपहारसहित सम्मान गरेका थिए ।

वडाध्यक्ष पौडेलले यसअघि वडाका ज्येष्ठ नागरिकसहित कूल १५० जनालाई तिर्थस्थलका रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र साधुटार भ्रमण गराइएको जानकारी दिएका छन । वडाले तीन समुहमा ६० देखि ८० , ८० देखि ९० र ९० देखि माथिका ज्येष्ठहरुलाई वर्गीकरण गरेर फरक फरक किसिमको सेवाका कार्यक्रमहरु ल्याएको वडाध्यक्ष पौडेलको भनाई छ ।

Facebook Comments Box