दमक/ सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नेपाल प्रथम राष्ट्रिय महाधिवेशनपछिको पहिलो उच्चस्तरीय सचिवालय बैठक इलामको चुलाचुलीमा बसेको छ ।
अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले कोशी प्रदेशको नामांकनमा असहमति जनाउँदै कोशी प्रदेश खारेजीको माग राखेर भइरहेको आन्दोलनमा ऐक्यबद्धतासहित यो प्रदेशको नाम कोकिलि (कोचिला,किराँत र लिम्बुवान) हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।
बैठकपछि निष्कर्ष न्यूजसँगको कुराकानीमा अध्यक्ष चौधरीले भने– हाम्रो पहिलो महाधिवेशनपछिको उच्चस्तरको बैठक भर्खरै सकिएको छ यो प्रदेशमा राखिएको कोशी नाममा हाम्रो आपत्ती छ । सँगसँगै यो प्रदेशको नाम कोकिलि राख्नुपर्ने हाम्रो प्रस्ताव छ ।
कोकिलि प्रदेशनै यहाँका उत्पीडित जाती समुदायको माग सम्बोधन हुने गरिको साझा नाम हुन सक्छ ।
अध्यक्ष चौधरीले पार्टीको महासमितिलाई समानुपातिक समावेशी बनाउने, सहकारी क्षेत्रमा बिद्यमान समस्या हल गर्न कानुन विपरित कार्य गर्ने सहकारी संस्थालाई कारवाहीको दायरामा ल्याउन विज्ञहरुको टोली गठन गरि तत्काल समस्या समाधान गर्न पहल गर्ने पनि निर्णय भएको जनाउ दिए ।
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सहअध्यक्ष रञ्जिता श्रेष्ठ संघीय सरकारमा भुमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री छिन ।
एक अर्को प्रसंगमा अध्यक्ष चौधरीले आफनो पार्टी वर्तमान गठबन्धनबाट नबाहिरिने पनि बताए । निष्कर्ष न्यूजसँगको कुराकानीमा उनले भने– हाम्रो सिट संख्या थोरै छ हामी थोरै सिट संख्या भएको पार्टीले सरकार बनाउने वा भत्काउनेमा कुनै भुमिका खेल्न सक्दैनौं र सरकार गिराउने खेलमा हाम्रो भुमिका हुँदैन ।
बैठकमा निकट भबिष्यमा हुने उपनिर्वाचनमा पहिचानवादी शक्तिहरुबीच सहकार्य हुनुपर्ने र पहिचानवादी दलहरुको तर्फबाट साझा उम्मेदवार बनाएर अघि बढने निर्णय भएका बैठकमा सहभागी अर्का नेता ज्ञानबहादुर गुरुङले जानकारी दिए ।