इलाम/ इलामको चुलाचुलीमा राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको गाउँपालिकास्तरीय प्रतियोगिता सम्पन्न भएको छ । तीन दिन अघि शुरु भएको प्रतियोगिताको आज बालज्योती माविमा औपचारिक कार्यक्रम गरि समापन गरिएको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला ताथ कानुन मन्त्री शम्सेर राईको
प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा प्रतियोगिताका उत्कृष्ट खेलाडी बिद्यार्थीहरुलाई पुरस्कार एवं प्रमाण पत्र प्रदान गरिएको छ । सोही अवसरमा गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुलाई आवश्यकताका आधारमा कम्प्युटर, प्रिन्टर, साउण्ड सिस्टम ( स्पीकर) आदि हस्तान्तरण गरिएको छ ।
बिद्यालयलाई प्रविधिमैत्री बनाउने गाउँपालिकाको नीति अनुसार पालिकाले प्रदान गरेका ति सामग्री इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, पालिका अध्यक्ष राजेन्द्र केरुङ, वडाध्यक्षहरु बबिनकुमार राई, लक्ष्मण श्रेष्ठ, सागर जवेगु, लगायतले हस्तान्तरण गरेका छन ।

सो अवसरमा मन्त्री राईले खेलकुदका माध्यमबाट मुलुकलाई विश्व सामु चिनाउन महत्वपूर्ण योगदान पुरयाउने बताए । उनले बिद्यालय शिक्षालाई गुणस्तरीय बनाउन समुदायको साझा भुमिका हुनुपर्नेमा पनि जोड दिए । गाउँपालिकाका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख राम मिश्रले औचित्य माथि प्रकाश पर्दै स्वागत गरेको कार्यक्रममा किराँत, राइ याक्खाको साकेला टोलीले सोइ ढोलि सोइ किरात राज्य खोइ भन्दै सिली प्रस्तुत गरेका थिए ।