दमक/ दमक नगरपालिका वडा नं ३ ले वडाभित्रका युवाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने प्रयास गरेको छ ।

३ नम्बर वडा कार्यालयले वडा भित्रका ५० जना युवाहरुलाई एकसाथ कफि बनाउने सीप सिकाउने (वारिस्ता) तालिम सञ्चालन गरेको हो । वडाले सार्वजनिक सूचना मार्फत टोल टोलबाट यो सीप सिक्न चाहने युवाहरुबाट तालिममा सहभागिताका लागि आवेदन मागेको थियो ।

यो तालिममा सहभागीहरुको कोटा संख्या निश्चीत रहेको र सीप सिकेर व्यवहारमा उतार्ने सोच र लक्ष्य राखेकाहरुलाई नछुटाई सहभागी गराउनु पर्ने भएका कारण आवेदन दिएका सबैलाई अन्तर्वार्ता मार्फत छनोट गरिएको वडाध्यक्ष नविन बरालले जानकारी दिए । उनले भने–तालिम लिनैका लागि मात्रै भन्दा पनि सिकेको सीपलाई व्यहारिक जीवनमा उपयोग गरेर वास्तविक रुपमै स्वरोजगार बन्न चाहेका हुन कि होइनन ? भन्ने बुझेर मात्रै छनोट गर्न हामीले अन्तर्वार्ता लिएर मात्रै सहभागीहरु छानेका हौं । वडाध्यक्ष बरालले भने– यो तालिममा सहभागीहरु सबैले स्वरोजगारको बाटो अपनाउनु हुनेछ र समृद्धि तर्फ लम्किनुहुनेछ भन्नेमा वडाले विश्वास लिएको छ ।

तालिमको शुक्रबार आयोजित औपचारिक कार्यक्रमका बीच दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भट्टराईले उदघाटन गरेकी थिइन । सो अवसरमा भट्टराईले युवाहरुलाई स्वदेशमै रोजगारीका अवसरहरुको पहिचान गरेर स्वरोजगार बन्ने बिषयलाई प्राथमिकतामा राख्न आव्हान गरिन । युवा जनशक्तिको विदेश पलायनलाई रोक्नु अहिले सबैको प्रमुख साझा चुनौती बन्दै गएको उनको भनाई थियो । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले यस किसिमका तालिमहरुको उपयोगमा जोड दिए ।

वडा कार्यालयले सञ्चालन गरेको सो तालिम १५ दिन सम्म चल्ने वडा सचिव बालकृष्ण कोइरालाले जानकारी दिए ।

Facebook Comments Box