दमक/ झापाको दमक ५ स्थित दिपिनी आधारभुत बिद्यालय परिसरमा सामाजिक अभियन्ता तथा पूर्व शिक्षक दुर्गा काफले खनाल काफलेले साढे पाँच लाख रुपैयाँ निजी खर्चमा सरस्वतीको मन्दिर बनाइ दिएकी छिन ।
त्यहाँ नवनिर्मित मन्दिरको विधिपूर्वक प्राण प्रतिष्ठा गरी आज बुधबार सरस्वती पूजाको अवसर पारेर बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
राष्टिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालको प्रमुख आतिथ्य र दिपिनी आधारभुत बिद्यालयका संस्थापक समेत रहेका पूर्व अध्यक्ष शेरबहादुर भट्टराईको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रमका बीच सो मन्दिर बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।
दाता काफलेले आफना स्वर्गीय पति मुकुन्द काफ्लेसहित स्वर्गीय बुबा आमा र सासु ससुरा पण्डित धरणीधर काफले र कृष्णकुमारीको स्मृतिमा कूल ५ लाख ५५ हजार रुपैयाँको लागतमा निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गर्नुभएको बिद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले जानकारी दिए ।
मन्दिर हस्तान्तरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्य समेत रहेका नेकपा एमालेका नेता होमबहादुर थापा, दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख रेगिना भट्टराई (प्रसाइँ), पूर्व दमक नगर प्रमुख रोमनाथ ओली लगायतले मन्तव्य राख्दै दाता परिवारको प्रशंसा गरे । कार्यक्रममा नगरपालिकाका शिक्षा समिति संयोजक समेत रहेका दमक ९ का वडाध्यक्ष कुबेर भट्टराई, पूर्व नगर उपप्रमुख गीता अधिकारी लगायत सामाजिक तथा शैक्षिक सरोकारवालाहरुको आतिथ्य रहेको थियो ।
