गौरीगञ्ज/ गौरीगञ्ज गाउँपालिका वडा नं ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कका लागि जग्गा व्यवस्थापन भएको करिब ६ दशक पछि बसपार्क निर्माण प्रक्रिया शुरु भएको छ ।
बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बस पार्क बनाउन सघन सहरी तथा भवन निर्माण आयोजना झापाबाट टेण्डर मार्फत ४२ लाख ७० हजार २ सय ५६ रुपैयाँ वजेट विनियोन भएपछि बस पार्क निर्माण प्रक्रिया अघि बढेको हो ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले शुक्रवार भवनको बैदिक विधि अनुसार शिलान्यास गरेकी छन् ।
करिब ८ करोड रुपैयाँको लागतमा निर्माण हुने बस पार्कको डिपिआर अनुसार पहिलो चरणमा वस पार्कको काउण्टरको भवन शिलान्यास भएको हो । योसंगै बसपार्कको शौचालय निर्माण हुनेछ ।
झापाको पुरानो बजार क्षेत्रको रुपमा रहेको गौरीगञ्ज खजुरगाछी बजार वर्षाैदेखि आधुनिक बसपार्कको आवश्यकता पुरा हुन सकेको थिएन । स्थानिय स्रोत साधन र प्रदेश तथा केन्द्रको बजेटवाट प्रारम्भिक कार्यमा डिपिआर बनेको थियो । २०१८ सालतिर तत्कालिन राजा महेन्द्र यहाँ भ्रमणका लागि आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको अध्यक्ष राजवंशीले बताइन ।
वडा नं. ६ का वडाध्यक्ष बद्रीनारायण यादवले टहरा सहितको बसपार्कको निर्माणले गौरीगञ्जको मुहार नै फेर्ने उल्लेख गरे ।
गौरीगंजवाट दैनिक रुपमा काठमाडौ लगायत पूर्वका विभिन्न स्थानमा पुग्ने बस छुट्ने गरेका छन् तर व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाध्यता रहेको वडा अध्यक्ष यादवले बताए ।
स्थानीय हुलाकी सडकको १० स्थानमा नयाँ सहर स्थापनाको योजनामा गौरीगंज समेत परेकाले स्तरीय बसपार्क निर्माण, आठमौजा भन्सार कार्यालयको स्तरोनतति र हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल निर्माणले गौरीगंज यो प्रदेशकै प्रमुख नाकाको रुपमा स्थापित हुने विश्वास गरिएको छ ।

Facebook Comments Box