दमक/ जनजातीहरुको समाधिस्थल भत्काएर झण्डै डेढ दशक अघि बनाउन शुरु गरिएको झापाको कमल ५ साविक लखनपुरस्थित आदिवासी रंगशाला निर्माणले दशकपछि पुनः निरन्तरता पाउने भएको छ ।

आज रंगशाला परिसरमा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले यसअघि तत्कालिन रक्षामन्त्री बिद्यादेवी भण्डारीबाट शिलान्यास भई निर्माण कार्य अघि बढन नसकेको सो रंगशाला पुनःनिर्माणको  शुभारम्भ गरेका हुन ।

निर्माणाधिन रंगशाला परिसरमा आयोजित अनौपचारिक संक्षिप्त कार्यक्रमका बीच यसबर्ष संघीय सरकार अन्तर्गतको राष्ट्रिय खेलकुद परिषद मार्फत प्राप्त हुने झण्डै एक करोड रुपैयाँको लागतमा सञ्चालन हुने आयोजनाको शुभारम्भ गरिएको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष राईले आदिवासी रंगशाला निर्माण आफैंमा एउटा महत्वपूर्ण काम भएकाले ठुलो कामको थालनी गर्दा कसैले पनि सानो मन नगरिदिन अपिल अपिल गरे ।

आदिवासी रंगशाला छिट्टै निर्माण सम्पन्न हुने गरि काम अघि बढाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

सो शुभारम्भ कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल १ का वडाअध्यक्ष केदार कटुवाल, कमल २ का वडाअध्यक्ष अशोक सुब्बा, ५ का वडाध्यक्ष एलवी विष्ट , ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, रंगशालाका पूर्व महासचिव एवं सल्लाहकार धिरेन लावती, सल्लाहकार ढुण्डिराज भण्डारी आदिवासी जनजाती महासंघ कमलका अध्यक्ष बदी राईसहित रंगशाला समितिका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

विस २०६६ सालमा त्यहाँ बर्षोदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो । तर ,पछिल्ला केहिबर्ष भने रंगशालाको नाममा विवाद बनेपछि रंगशालामा सरकारी वजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थियो ।

आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्रिय खेलकुद परिषद मार्फत यसवर्ष रु १ करोड बजेट बिनियोजन भएको छ ।

वजेट मध्ये डिपीआर अनुसारको उपभोक्तामार्फत रंगशालाका प्रारिम्भक चरणका थप कामहरु शुरु गरिएको उनले बताए ।

यसवर्ष रंगशाला निर्माणका लागि परिषदको रु ७६ लाख ९२ हजार ६ सय ९२ रुपैया र उपभोक्ताको रु ८ लाख ५४ हजार ६ सय ९२ रुपैया गरि कुल रु ८५ लाख ४६ हजार ९ सय २८ रुपैयाको वजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष समेत रहनु भएका महासचिव राईले बताए ।

रंगशाला निर्माणको लागि नेकपा माओवादी केन्द्रका केन्द्रिय युवा नेता समेत रहेका रञ्जित तामाङ र गाउँपालिका अध्यक्ष राईको सक्रियतामा राष्ट्रिय खेलकुद परिषदसँग संझौता गरिसकिएको छ ।

निर्माण कार्यलाई प्रभावकारिता बनाउन उपभोक्ता समितिले साताको शनिवार स्थानीयलाई श्रमदान गर्ने गरि काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

त्यहाँ रंगशालाका कामका लागि विभिन्न आर्थिक वर्षमा रु ४ करोड बढी वजेट बिनियोजन भएपनि वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको कारण रंगशाला ओझेलमा परेको उपभोक्ता समितिका सदस्य समेत रहनु भएका पत्रकार बिष्णु सुब्बा  बताउँछन ।

https://www.facebook.com/nishkarshanewsonline/videos/382759864357614

 

Facebook Comments Box