दमक/ दमक उद्योग वाणिज्य संघको आयोजनामा झापाको दमकमा यही माघ २८ गते देखि शुरु हुने दमक महोत्सवको तयारी तिब्र बनाइएको छ ।
कृषि, औद्योगिक तथा व्यापारिक एवं पर्यटन प्रवद्र्धनका लागि संघले आयोजना गरेको छैठौं दमक महोत्सवका लागि धमाधम स्टल बुकिङ खुल्ला गरिएको छ ।
सोमबार सम्ममा महोत्सवका लागि विभिन्न प्रकृतिका ७० भन्दा बढी स्टलहरु बुकिङ भइसकेका महोत्सव सचिवालयले जनाएको छ । अझै पनि स्टल बुकिङ गर्ने काम भइरहेको छ – महोत्सव आयोजक मुल समिति संयोजक समेत रहनु भएका द्यमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले भन्नु भयो ।
खडकाको संयोजकत्वमा रहेको मूल आयोजक समिति र सो अन्तर्गतका विभिन्न उपसमितिहरुबीच महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउने उद्धेश्यले बैठक, छलफलहरु धमाधम चलिरहेका छन ।
संघले अहिले सम्म उद्योगी व्यवसायीहरुसँगको अतिरिक्त स्थानीय राजनीतिक दलहरु, आदिवासी जनजाती महासंघ लगायतसँग महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउने बिषयमा चरणबद्ध छलफल गरेको संघका अध्यक्ष गोपाल गुरागाइँ बताउनु हुन्छ । सबैबाट सकारात्मक सहयोगको प्रतिबद्धता आएको छ, यसपटकको महोत्सवले दमकलाई केही नयाँ कुराको अनुभव दिनेछ भन्नेमा हामी विश्वस्त छौं– संघका अध्यक्ष गुरागाइँले भन्नु भयो ।
संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठ आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पूर्वका उद्योगी व्यवसायीहरुलाई मनोरञ्जन दिलाउन यो महोत्सवले महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको बताउनु हुन्छ ।
फागुन १२ गते सम्म सञ्चालन हुने सो महोत्सव अघिल्लो पटकका महोत्सवहरु भन्दा फरक किसिमको हुने दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज बिष्ट बताउनु हुन्छ ।
महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुका अतिरिक्त भारतबाट समेत चर्चित कलाकारहरु आउने भएकाले पनि यस बर्षको महोत्सवमा फरक मनोरञ्जनात्मक हुने विष्टको भनाई छ । संघले यो महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको छ । संघले महोत्सव सञ्चालन वापत प्राप्त गरेको रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिने जनाएको छ ।
हेर्नुहोस भिडिओ
