दमक/ नवरात्र प्रारम्भ भएसंगै हिन्दु धर्मावलम्बीहरुले शक्तिको स्रोतका रुपमा मानिने नवदुर्गा भवनाीको आरधना गरिरहेका छन् ।
असत्यमाथि सत्यको र आँशुरी शक्तिमाथी दैवी शक्तिको विजय उत्सवका रुपमा लिइने बडादशैंको प्रारम्भमा आस्वीन शुक्ल पक्ष प्रतिपदादेखि नवमीसम्म प्रत्येक बर्ष देवीको सिद्ध शक्तिपीठ कालिकापीठमा देवीको विशेष पूजा आरधना गरिदै आएको छ ।
नवरात्रको अवसर पारेर झापाको दमकमा दमक युथ क्लबले बर्षेनी सञ्चालन गदैै आएको नवदुर्गाको पूजा समारोहलाई यस बर्ष पनि निरन्तरता दिएको छ । क्लबले दमक ७ मा पर्ने पृथ्वी आधारभुत विद्यालय नजिकै गर्दै आएको पूजालाई यस बर्षपनि निरन्तरता दिएको क्लबका अध्यक्ष काजी लाम्गादेले बताए । उनका अनुसार १२ असोज घटस्थापनादेखिनै दैनिक पूजापाठ चलिहरेको छ भने साँझमा भजन कीर्तनसहित धुपी नाच आकर्षक रुपमा प्रस्तुत भईरहेको छ ।

यहि असोज १८ गते फुलपातीका दिन त्यहाँ मूर्ति अनावरण, सलामीसहित फूलपाती भित्र्याउने र पूजा तथा सो क्लबलाई सहयोग गर्ने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।
क्लबले त्यहाँ गरिदैं आएको दुर्गा पूजालाई प्रदेश नं १ कै भव्य दुर्गा पूजाका रुपमा लिदैं आएको छ । त्यसैगरी दमक ६ स्थित हनुमान मन्दिरमा समेत सदा बर्षझैं यस बर्षपनि दुर्गा पूजालाई निरन्तरता दिइएको छ ।
त्यसैगरी अर्जुनधारा नगरपालिका वार्ड नं–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा शतचण्डी महायज्ञ सञ्चालन भइरहेको छ ।
नवरात्र अवधिभर दुर्गा भवानीको विशेष पूजा आरधना, १० जना ब्राम्हण बटुकहरुद्वारा दुर्गा शप्तशति पाठसहित शतचण्डी महायज्ञ शुरु गरिएको हो । नेपालीहरुको प्रमुख चाड बडादशैंको प्रारम्भका दिन घटस्थापना गरी वैदिक स्तोत्र पाठसहित दैनिक विशेष पूजा आरधना भइरहेको पीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिए ।

नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी नवदुर्गाको प्रतीकस्वरुप नवकन्याको पूजनसँगै महायज्ञ समापन गर्ने परम्परा रहेको यज्ञाचार्य आ. रघुनाथ रिजालले जानकारी दिए । उनका अनुसार शैलपुत्री, ब्रम्हचारिणी र चन्द्रघण्टास्वरुपा पराम्बा माताको पूजन सकिएको छ भने अव क्रमश कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको विशेष पूजा गरिनेछ । आयोजित महायज्ञमा सय आवृत्ति बढी दुर्गा सप्तशती (चण्डी) पाठ गरेर नवदुर्गा, त्रिशक्ति मानिने महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरधना पनि गरिनेछ । आस्वीन शुक्ल प्रतिपदादेखि शुरु भएको यज्ञ आगामी नवमीका दिन समापन गरिने पीठका उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिए ।