दमक/ उपभोक्ता हित संरक्षण मञ्च दमकले आईतबार उपभोक्ता सचेतना तथा जागरण कार्यक्रममा उपभोक्ता अधिकारको बारेमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
दमक नगरपालिका तथा खाद्य गुण तथा नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको सहकार्यमा भएको कार्यक्रममा डिभिजन प्रमुख भरतबहादुर पुरी तथा मञ्चका अध्यक्ष डा. नविन चापागाईले उपभोक्ता सचेतना, कानूनी व्यवस्था, सजगता लगायतका बिषयमा प्रशिक्षणात्मक प्रस्तुती राखेका थिए । मञ्चका उपाध्यक्ष देवेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सदस्य शंकर चापागाईले समेत आफ्नो प्रस्तुती राखेका थिए ।
दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले उपभोक्ता सचेतनाका लागि नगरपालिकाले सघन रुपमा कार्यक्रमहरु गर्दै जाने बताईन् । यस्तै दमक १ का वडाध्यक्ष ताराप्रसाद अधिकारीले नगरले पनि समय समयमा बजार अनुगमन, निरीक्षण लगायतका कार्य गर्दै आएको बताए ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना, वडा नं.१० का वडाध्यक्ष बोधराज न्यौपाने, नगरपालिका बजार अनुगमन समितिका संयोजक तथा वडा नं.७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, ईलाका प्रशासन कार्यालय दमकका अधिकृत यज्ञप्रसाद आचार्य, द एशिया फाण्डेशनका श्याम सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।