दमक/ झापाको कमल गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन गाउँपालिका घोषणाको तयारी पुरा भएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलन गरि पालिका भित्र बालमैत्री घोषणाका लागि तोकिएका सुचकहरु पुरा भएकाले कोशी प्रदेश सरकारले सो पालिकालाई बालमैत्री घोषणा गर्न लागेको हो ।
यही माघ २० गते कमल ५ स्थित आदिवासी रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरि सो पालिकाले बालमैत्री घोषणा गरिने पत्रकार सम्मेलनमा जनाइएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार कमल गाउँपालिका बालमैत्री घोषणा हुनेमा कमल गाउँपालिका कोशी प्रदेशकै गाउँँपालिका मध्ये पहिलो गाउँपालिका हुनेछ । यो प्रदेशमा यसअघि चार वटा नगरपालिकाले बालमैत्री घोषणा गरेको थियो ।
पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो ।
त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न. २ ले २०७९ बैशाख १४ मा , चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते , कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको उल्लेख छ ।
पालिकाले २०७८ साल भित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केहि ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष राईले बताए ।
बालमैत्री घोषणाका लागि प्रदेश सरकारले समेत सहमति पत्र प्राप्त भएपछि अव भने पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको उनको भनाई छ ।
वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत राजुकमार शाक्यले जानकारी दिए ।
उनका अनुसार बालमैत्रीका लागि कमलका ७ वटै वडातहमा त्यस सम्बन्धी राजनीतिक दल ,विभिन्न संघ संस्था, उद्योगी, ब्यवसायी, निजी तथा सरकारी विद्यालय,वाल क्लवका प्रमुख र प्रतिनिधि,सरोकारवालाहरुसंग छलफल गरिसकिएको छ ।
पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, बालमैत्री घोषणाका लागि सहजकर्ता सुमन ढकालले पनि बालमैत्री घोषणाको मापदण्ड र यसका चुनौतीहरुका बिषयमा जानकारी गराएका थिए ।