दमक/ दमकस्थित आम्दा अस्पतालको सेवा प्रवाहका बिषयमा स्थानीय सरकारले चासो लिएको छ । दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई सहित स्वास्थ्य कर्मचारीहरुको टोलीले अस्पतालको अनुगमन गरेको हो ।
अस्पतालमा उपचाररत बिरामीहरुसंग भेटघाट गरि अस्पतालबाट पाउनुपर्ने सेवा उपयोगको अवस्था बिषयमा आवश्यक जानकारी लिएका थिए ।
आम्दा अस्पतालमा प्रसुति गराउने बिरामी सबैको उपचार खर्च सहित खानाका ब्यवस्था र न्यानो कपडा समेत दमक नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।
अनुगमनका क्रममा बिशेष गरी आमा सुरक्षा कार्यक्रमको बारेमा जानकारी लिईएको थियो । आम्दा अस्पताल दमकमा प्रसुति गराउन आउने सेवाग्राहीहरु धेरै रहेकोले उनीहरुको उपचारका बारेमा जानकारी लिईएको नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले बताइन ।
अस्पतालले सञ्चालन गरिरहेको नगरपालिकाको कार्यक्रम कार्यान्वयन सन्तोषजनक रहेको अनुगमनमा सहभागी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।
नगरपालिकाका सबै कार्यक्रम प्रभवाकारी रुपमा कार्यान्वयन भईरहेको भए पनि सुत्केरी आमा र बच्चाका लागि उपलब्ध गराईने एकसरो न्यानो कपडा भने तत्काल सकिएकोले अहिले बाँड्न नसकिएको भट्टराइले बताए । कपडाको लागि पनि टेण्डर आह्वान भईसकेकोले केहिदिनमै वितरण गरिने उनको भनाई छ । अहिले प्रसुति भएकाहरुको पनि सम्पर्क नम्बर राखिएकोले कपडा आउनासाथ सम्पर्क गरेर उपलब्ध गराईने उनले बताए ।