कुञ्जीबारी / नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान अन्तर्गत आज माघ १३ गतेदेखि महामन्त्री गगन थापाले शुरु गरेको संवाद यात्राका क्रममा नागरिकहरुले स्वागतसँगै समस्याहरुको पोको थुपरेका छन ।
शनिबार भद्रपुरको मेची पुलबाट झापा चोक हुँदै नवनिर्मित हुलाकी मार्गमा नागरिकहरुसँग ठाउँ ठाउँमा संवाद र भलाकुसारी गर्दै हिंडेका नेता थापामाथि नागरिकहरुले बिकास निर्माण र सुशासनको बिषयमा पनि ध्यानाकर्षण गराए ।
झापा चोकदेखि जलथल , राजगढ , झापा बजार हुँदै आएका उनलाई सो क्षेत्रमा रहेका नेपाल भारत सीमा क्षेत्रका समस्याहरु, नदी कटान, हात्ती लगायत वन्यजन्तुबाट उत्पन्न समस्याहरुको चाङ लागेको थियो ।
कन्काई नदीमा निर्माणाधिन पक्की पुलको अवस्थाबारे स्थलगत जानकारीसहित सो ठाउँको यात्रा गरिरहेका पूर्व मन्त्री समेत रहेका थापालाई औपचारिक र अनौपचारिक दुवै रुपमा जनप्रतिनिधि, पार्टी प्रतिनिधि एवं सर्वसाधारण नागरिकहरुले खोलामा पूल नहुँदाको समस्याहरुबारे महत्वसाथ ध्यानाकर्षण गराए ।

कुञ्जीबारीमा संक्षिप्त संवाद गरेका उनलाई गौरीगञ्ज १ का वडा सभापति कार्तिकलाल राजवंशी र नेपाली कांग्रेस गौरीगञ्ज १ का वडा सभापति विनोद राजवंशीले बुँदागत रुपमा सो भेगका समस्याहरु र नागरिकहरुका आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए ।

सोपछि महामन्त्री थापालाई गौरीगञ्ज ६ खजुरगाछीस्थित शिवालय मन्दिर प्राङगणमा स्वागत गरेका थिए । सो क्रममा नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिका तर्फबाट केर्खा–क्याम्पा–कुञ्जीबारी हुँदै बोर्डर जोडने सडक कालोपत्रे गर्न, हुलाकी मार्ग अन्तर्गतका निर्माणाधिन पक्की पूल निर्माणलाई पूर्णता दिन, सो क्षेत्रमा रहेको अव्यवस्थित तथा भुमिहीनहरुको व्यवस्थापन, गौरीगञ्ज क्याम्पसको स्तरोन्नती, आठमौजा छोटी भन्सारको सञ्चालनमा देखिएको समस्याको नीतिगत समाधान लगायतका बिषयहरु समेटिएको ज्ञापन पत्र बुझाइएको कांग्रेस गौरीगञ्जका गाउँ सभापति अघ्नु प्रसाद राजवंशीले जानकारी दिए । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले गौरीगञ्ज अस्पतालको समेत स्थलगत अवलोकन गर्दै त्यहाँको आवश्यकताबारे जानकारी लिएका छन ।

गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष समेत रहेकी कांग्रेस नेतृ फुलवती राजवंशी, गौरादह नगरपालिकाका पूर्व प्रमुख एवं महासमिति सदस्य रोहितकुमार साह सहित स्थानीय नेताहरुले विबिध समस्याहरुबारेमा जानकारी गराएका छन ।

