दमक/ झापाको कमल गाउँपालिका वडा नं ५ स्थित सितापुरीमा पूर्वका सिमान्तकृत तथा लोपोन्मुख जातीको साँस्कृतिक पर्व सोहरायको अवसरमा साँस्कृतिक मेला आयोजना गरिएको छ ।
नेपाल आदिवासी सन्थाल उत्थान संघ कमल गाउँ कार्यसमितिको आयोजनामा सितापुरी जंगल परिसरमा आयोजना गरिएको साँस्कृतिक मेलामा सन्थाल, सन्थालीहरुले आफनो परम्परागत भेषभुषामा सज्जिएर मौलिक नाच र गितहरु प्रस्तुत गरेका छन ।
उनीहरुले पहिलो पटक कमल गाउँपालिकाले स्थानीय विदा दिएर सोहराय पर्वमा उत्साह थपिदिएको भन्दै खुशी पनि व्यक्त गरे ।
संघका केन्द्रिय महासचिव कुन्दन मुर्मुले स्थानीय सरकारले सार्वजनिक विदा दिनु सकारात्मक पक्ष भएको बताए । उनले सन्थाल जातीको उत्थान र संरक्षणमा जातिय संस्थाको नेतृत्वमा भइरहेको प्रयासहरुका बारेमा पनि चर्चा गरे ।
कार्यक्रममा सन्थाल समुदायका अगुवाहरु बडाराम हेमरम, लक्ष्मण मर्डी, पिटर सोरेन, बुद्धिलाल सोरेन, सम्झना किस्कु,बुदिन मुर्मु, इश्वर मुर्मु, राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्वहरु दिपेनवाला राई, नेपाल नेपाल आदिवासी जनजाती महासंघका कमल अध्यक्ष बदि साम्पागं, नेत्र दाहाल लगायतको विशेष आतिथ्य रहेको थियो ।

त्यहाँ सन्थालहरुले परम्परागत रुपमा गर्दै आएको पुजाआजा समेत गरेका थिए । कमल गाउँपालिकाका अतिरिक्त झापा, मोरगंका विभिन्न पालिकाहरुबाट समेत सन्थालहरु आआफनो कलाकार टोली बाजागाजासहित उपस्थित भएर आपसमा शुभकामना आदनप्रदान गरेका थिए । कार्यक्रम नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष सरकार मर्डीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक विक्रम किस्कु रहेका थिए ।
गतवर्षदेखि विशेष कार्यक्रम गरि कमलमा सोराहय पर्व मनाउने गरिएपनि स्थानीय विदा भने पहिलो पटक यसबर्ष दिइएको हो ।