दमक/ झापा, मोरङ र इलामका पालिकाहरुमा क्रियाशील न्यायिक समितिका प्रतिनिधिहरुबीच झापाको दमकमा अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको छ ।

पालिकाको न्यायिक समितिमा परेका उजुरीहरुमाथी पारदर्शी र सहज ढंगबाट सुनुवाई गरी न्यायिक निरुपणमा भइरहेका असल अभ्यासका अनुभवहरुको आदनप्रदान र न्यायीक निरुपणमा सहजता प्रदान गर्ने उद्धेश्यले दमक नगरपालिकाले आयोजना गरेको सो कार्यक्रमको उदघाटन दमक नगर प्रमुख रामकुमार थापाले गरेका थिए ।

उपप्रमुख/उपाध्यक्ष सञ्जाल झापासँगको समन्वयमा आयोजित सो कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधिश अशोककुमार बस्नेतले प्रचलित कानुनले स्थानीय तहमा रहेको न्यायिक समिति तथा मातहतका मेलमिलाप केन्द्रलाई प्रदान गरेका न्याय निरुपण अधिकारका बिषयमा जानकारीमुलक प्रशिक्षण दिएका थिए ।

उदघाटन कार्यक्रममा शुभकामना दिदैं नगर प्रमुख थापाले न्यायिक समितिले अनुभवका आधारमा गरेको न्यायीक निरुपणले आम नागरिकहरुमा स्थानीय सरकारप्रति सकारात्मक सन्देश प्रवाह गर्न मद्धत पुग्ने उल्लेख गरे ।


कार्यक्रमको अध्यक्षता गरेकी दमक नगर उपप्रमुख तथा झापा जिल्ला उपप्रमुख÷उपाध्यक्ष सञ्जालकी संयोजक रेगिना भट्टराई प्रसाइँले संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण र नागरिकहरुको सबैभन्दा नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकार अन्तर्गतको न्यायीक समितिले प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्नुपर्ने भएकाले यस किसिमको कार्यक्रम तय गरिएको उल्लेख गरिन । उपप्रमुख भट्टराईले न्यायिक समिति तथा कानुनी शाखाबाट भए गरेका कार्यहरुको अनुभव आदनप्रदानका माध्यमबाट एकअर्कामा सहयोग पुग्ने विश्वास लिइएको बताइन ।
कार्यक्रममा झापासँग जोडिएका छिमेकी जिल्ला मोरङ र इलामका पालिकाहरुबाट समेत न्यायिक समितिका संयोजक तथा सदस्यहरु उजुरी प्रशासक तथा कानुन अधिकृतहरु समेत करिब एक सय जनाको सहभागिता रहेको जनाइएको छ । सहभागीहरुले कार्य अनुभव आदनप्रदान गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाको न्यायिक समितिले गर्दै आएका कार्यहरु र न्यायिक निरुपणका लागि अवलम्बन गरिरहेका अभ्यासहरुका बारेमा कानुन शाखाका अधिकृत नविन खतिवडाले प्रस्तुती राखेका थिए । कार्यक्रमको सञ्चालन न्यायिक समितिका सदस्य कमलकुमार श्रेष्ठले गरेका थिए ।

Facebook Comments Box