दमक/ डाइनामिक पब्लीक लाइब्रेरी नामक संस्थाको चौथो राष्ट्रिय महाधिवेशन झापाको कमलमा हुने भएको छ । सो संस्थाले बुधबार दमकमा पत्रकार सम्मेलन गर्दै आगामी पुष २८ गते हुने राष्ट्रिय महाधिवेशन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
संस्थाको कमल गाउँ शाखाको आतिथ्यमा हुने महाधिवेशनले आगामी एक बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । यो संस्थाको बिधान अनुसार अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्तीनै स्वत अर्को कार्यकालका लागि अध्यक्ष हुने व्यवस्था रहेको छ ।
लाइब्रेरीका वरिष्ठ उपाध्यक्ष वालचन्द्र कार्कीले महाधिवेशनमा अतिथी सत्कार ,प्रचार प्रसार र स्टेज ब्यवस्थापन लगायतका विभिन्न उपसमितिले तयारीका काम अन्तिम चरणमा पुरयाएको बताए ।
महाधिवेशनमा उद्यमशीलता बहस समेत सञ्चालन हुनेछ भने अन्य रचनात्मक कार्यक्रमहरु समेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जनाइयो ।
पत्रकार सम्मेलनमा संस्थाका पूर्व अध्यक्ष एवं संरक्षण समितिका संयोजक भेषराज न्यौपाने, पूर्व अध्यक्ष विनोद उप्रेती , तत्कालिन अध्यक्ष सन्दिप न्योपाने , कमल गाउँ शाखा अध्यक्ष जीवन सापकोटा लगायतले पनि यसका बिबिध बिषयमा प्रष्टयाएका थिए ।
कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर, प्रतिनिधि सभा सदस्य एवं युवा नेता विश्वप्रकाश शर्मा, अधिवक्ता स्वागत नेपाल, कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, गोल्यान ग्रुपका भाइस चेयर पर्सन बासुदेव लगायतको विशेष उपस्थिती रहनेछ ।
महाधिवेशनमा ५ सय बढी प्रतिनिधि, पर्यवेक्षकहरु सहभागी हुनेछन । अध्यक्ष बाहेकका पदाधिकारीहरुका लागि भने निर्वाचन प्रकृया शुरु भइसकेकाले महाधिवेशनको समापनमा कार्यसमितिको घोषणा समेत हुने जनाइएको छ ।