दमक/ दमकमा नेपाली कांग्रेसका वडा सभापतिहरुले समसामयिक बिषयमा छलफल गर्दै पार्टीको आन्तरिक मामिलामा वडा समितिलाई अधिकारबिहिन बनाउन नहुने निष्कर्ष निकालेका छन् ।दमकका १० वडा मध्ये ८ वटा वडाका पार्टी सभापतिहरु सहभागी छलफलमा त्यस्तो निष्कर्ष निकालेका हुन् ।
वडा सभापति सञ्जाल दमकको आयोजनामा सञ्चालित अनौपचारिक बैठकमा सहभागि वडा सभापतिहरुले दमकमा हुने खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका बिषयमा पनि गहन छलफल गरेका छन् । सभापतिहरुले खानेपानी निर्वाचनमा पार्टीका तर्फबाट प्रस्ताव गरिने उम्मेदवारहरुको तय गर्ने सम्बन्धमा हुने छलफलमा सभापतिहरुलाई पनि सहभागी गराइनुपर्नेमा जोड दिए । उनीहरुले विगतमा यहाँका संस्थाहरुमा भएको निर्वाचन परिणामको समिक्षा गर्दै पार्टीको उपल्लो तहका नेतृत्वहरुले वडा तहमा हुने सबै खाले निर्वाचनमा पार्टीको वडा समितिसँग पर्याप्त समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा निर्वाचन परिणाम कांग्रेसका लागि फलदायी हुने पनि विश्लेषण गरेका छन । सभापति सञ्जालका संयोजक तथा दमक- ४ का सभापति राजेन्द्र सिटौलाले प्रभावकारी ढंगबाट निर्वाचनमा परिचालन गर्ने संयन्त्र बन्नुपर्ने र पार्टीहितमा काम गर्नपर्ने आफूहरुको जोड रहेको बताए । छलफलमा सहभागीहरुले निर्वाचनका उम्मेदवारका बिषयमा सम्बन्धित वडा तहमा हुने छलफल र अन्तरक्रियाले सकारात्मक परिणाम दिने उल्लेख गरेका थिए ।
दमक खानेपानीको निर्वाचनमा संस्थाको बिधान अनुसार दमकका २ वटा वडाका बाहेक ८ वडाका उपभोक्ताहरु मतदाताका रुपमा सहभागी हुने जनाइएको छ ।
कांग्रेसले आफना तर्फबाट सबै वडा तथा ब्लकहरुमा रहेका उम्मेदवारका आकांक्षीहरुको भावनाको सम्बोधन गर्ने गरी कदम चाल्नुपर्ने वडा सभापतिहरुको जोड थियो ।कतिपय सहभागीहरुले पार्टीमा आकांक्षीहरुलाई आलोपालो फरक फरक ठाउँमा व्यवस्थापन गर्नुपर्ने धारणा समेत राखेका छन् ।
छलफलमा दमक १ का सभापति गजेन्द्र देवान, २ का सभापति भागवत दुलाल, ३ का सभापति गोपाल गिरी, ५ का सभापति चैतन्य बराल, ६ का सभापति मणिकुमार बुढाथोकी , वडा नं ८ का सभापति चन्द्र खत्री र ९ का सभापति युवराज कोइराला सहभागी थिए ।