दमक/ दमकको वडा नं ७ मा लागुऔषधको समस्या र सामाजिक कुरितीहरुका बिषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया तथा सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ । दमक नगरपालिकाले इलाका प्रहरी कार्यालय दमकको समेत सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको सो कार्यक्रममा पहिले लागुऔषध प्रयोग गरेर छोडेका पर्शु राईले आफूमा परिवर्तनको अनुभव सुनाएका थिए ।
उनले लागुऔषध प्रयोगले आफनै भबिष्य अन्धकार हुने भएकाले यसको लतबाट टाढा बस्न नयाँ पुस्तालाई आग्रह गरे । उनले लागुऔषध प्रयोगकर्ताहरुसँग गरिने गलत ब्यवहारले यसको जोखिम झनै बढने भएकाले सभ्य व्यवहारको खाँचो औंल्याए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य, उपप्रमुख रेगिना भट्टराई प्रसाइँको विशेष आतिथ्य र दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागीहरुले नगरपालिकाले व्यवस्था गरेको नुमना बस्ती र आसपासको क्षेत्रलाई मध्यनजर गर्दै छुट्टै प्रहरी बिट स्थापना गर्न माग गरे ।

अन्तरक्रियामा स्थानीय राजनीतिक दल, टोल बिकास संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधिहरु, स्काउट प्रतिनिधि लगायत सर्वसाधारणहरुको उल्लेखीय सहभागिता थियो । कार्यक्रममा वडाध्यक्ष पौडेलले लागुऔषधको जोखिमबाट आफना सन्तानलाई टाढा राख्न नसके जतिसुकै धन सम्पत्ती आर्जन गरेपनि त्यो औचित्यहिन हुने भएकाले सजग हुन वडाबासीहरुलाई आग्रह गरे । लागुऔषधको प्रयोगकर्ताहरु गाउँ टोलमा हुँदा हुँदै उनीहरुलाई त्यसबाट मुक्त गराउन अभिभावकका साथै समाजका सबै पक्षहरुको भुमिका सकारात्मक हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।
वडा कार्यालय परिसरमा आयोजित सो अन्तरक्रियामा इलाका प्रशासन कार्यालय दमक ,इलाका प्रहरी कार्यालय दमक, लागुऔषधको न्यूनिकरणमा सक्रिय भुमिका निर्वाह गर्ने सरोकारावाला, बिद्यार्थी अभिभावकहरु समेतको उल्लेख्य सहभागिता रहेको वडा सदस्य अतित बान्तवा राईले जानकारी दिए ।