दमक/ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ दमकले दमक १० स्थित सगरमाथा आधारभुत बिद्यालयका ७५ जना बालबालिकालाई न्यानो कपडा र जुत्ता वितरण गरेको छ । क्लबले सोमबार बिद्यालय परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुको शैक्षिक निरन्तरतामा जाडोले पार्ने नकारात्मक प्रभाव रोक्न त्यस किसिमको सहयोग गरेको हो ।
क्लबले दमक नगरपालिका वडा नं १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा आयोजित औपचारिक कार्यक्रमका बीच सहयोग स्वरुप बिद्यार्थीहरुलाई न्यानो कपडा र जुत्ता वितरण गरेको बिद्यालयले जनाएको छ ।
रोटरी क्लब अफ दमकका अध्यक्ष पदमराज बरालको सभापतित्वमा आयोजित वितरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ र प्रधानाध्यापक हेमराज ढकालले रोटरीबाट प्राप्त सहयोगले जाडो बढेसँगै बिद्यार्थीहरु कक्षामा अनुपस्थित हुने दर शुन्यमा झार्न मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष भण्डारीले रोटरी क्लबले दमक नगर भित्रैको ग्रामिण भेगका बालबालिकालाई लक्षित गरेर त्यस्तो सहयोग ल्याएकोप्रति धन्यवाद व्यक्त गरे । सामाजिक संघ संस्थाहरुसँग सहकार्य गरेर अघि बढन वडा कार्यालय सधैं तयार रहेको पनि वडाध्यक्ष भण्डारीको भनाई थियो । सो कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष साबन अधिकारी, बिद्यालयका शिक्षक, कर्मचारी , अभिभावक तथा शैक्षिक सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।