दमक/आदिवासी बाहुल्य क्षेत्र झापाको गौरीगञ्जमा पहिलो पटक आदिवासी जनजाती फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
आदिवासी जनजाती महासंघ गौरीगञ्जको आयोजनामा आगामी शनिवार हुने सो कार्यक्रममा विभिन्न जातजातीका परम्पारगत खानेकुरा र मौलिक संस्कृति झल्किने लोक नृत्य आदी प्रमुख आकर्षणका रुपमा रहनेछन ।
फुडफेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको बारेमा आइतबार गौरीगञ्ज ३ नम्बर वडा कार्यालयको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा त्यसप्रकारको फेस्टिबल गौरीगञ्जमा पहिलो पटक आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा महासंघका गौरीगञ्ज गाउँ समन्वय परिषद अध्यक्ष गंगा राजवंशीले गौरीगञ्ज माविको प्राङगणमा हुने फेस्टिबलमा विभिन्न जातजातीका विशेष खानेकुराहरुको प्रवद्र्धन र संरक्षणका साथै आदिवासीहरुको पहिचान र संस्कृति झल्काउने अवसरका रुपमा यो फेस्टिबललाई लिइएको बताए ।
अध्यक्ष राजवंशीका अनुसार स्थानीय १२ जातजातिको मौलिक लोक नृत्य समेत कार्यक्रममा आकर्षणका रुपमा रहनेछन ।
गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा हुने सो कार्यक्रममा सबै स्टलहरु आयोजकलेनै व्यवस्था गर्ने र परम्परागत मौलिक खानेकुराहरुको स्वाद समेत सर्वसाधारणलाई चखाइनेछ । त्यस्तै कार्यक्रममा गौरीगञ्ज गाउँपालिका भित्र बसोबास गर्ने सबै जाती समुदायका एक/एक जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । गाउँपालिकामा उपलब्ध तथ्याङकका आधारमा आदिवासी जनजाती महासंघका घटक जातीय संस्था भित्र पर्ने जातीहरुबाट सबैभन्दा ज्येष्ठलाई आदिवासी जनजाति जेष्ठ नागरिक सम्मान संगै निर्वाचित निवर्तमान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र वर्तमान पालिका अध्यक्ष फुलवती राजवंशीलाई पनि सम्मान गरिने जनाइएको छ । कार्यक्रमस्थलमा नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा खुल्ला रक्तदान र निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिने पत्रकार सम्मेलनमा जनाईएको छ ।
भाक्का, पिठ घुम्नी मुरी, गुन्जुर र सिद्ल (शिध्रा), नेवारको यमरी, सन्थालको खिचडी, तरूल, मकै र कोदो, फापरको रोटी, सेलरोटी, फिलिङ्गेको अचार, सखरखण्ड लगायतका मौलिक खानाका परिकार कार्यक्रमस्थलमा सबैलाई निशुल्क वितरण गरिने पनि आयोजकले जनाएको छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन ३ सदस्यीय व्यवस्थापन समिति समेत बनाइएको छ । आदिवासी जनजाति महासंघ गौरीगञ्जका उपाध्यक्ष समेत रहेका पत्रकार आत्माराम राजवंशीको संयोजकत्वमा गठित सो समितिको सचिवमा अशोक कुमार ताजपुरिया र कोषाध्यक्षमा सायरा श्रेष्ठ, राजेन्द्र राई रहेका छन ।
गौरीगञ्जमा रहेका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकास र ससक्तिकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषदका सचिव अशोककुमार ताजपुरियाले बताए ।